विराटनगर– नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिन बाधा पुर्याएको आरोप लगाएका छन्।
आज (सोमबार) प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन गर्दै उनले यस्तो बताएका हुन्। उस्तै उनले उपसभामुखले बैठक सञ्चालन गर्न बहानाबाजी गरेको आरोप समेत लगाए।
सोमबार उपसभामुख दनुवार बिदामा बसेपछि अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सरीले बैठक सञ्चालन गरेका छन्। ‘निर्वाचित उपसभामुखको दुख विमारका बारेमा भोलि मेडिकल रिपोर्ट, अस्पतालले स्पष्ट पार्ला। तर कतै यो बिमारी नाटक र बहानाबाजी त होइन भन्ने आशंका गर्न सकिन्छ’, उनले भने।
मुख्यमन्त्रीले प्रदेशसभामा आफ्नो अनुकुल समयमा विश्वासको मत लिन सक्नेमा उपसभामुखले एक दिन पछाडि सारिदिएको राईले बताए। मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए, तर उपसभामुखले सोमबारका लागि बैठकको मिति तोकेकी थिइन्।
एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राईले अगाडि भने, ‘मुख्यमन्त्रीले मागेको समय क्रस गरेर विश्वासको मतका लागि समय तोक्ने काम पहिलो पटक भएको छ, यो सामान्य कुरा छैन । संसारको कुनै पनि संसदमा यस्तो भएको छैन होला ।’
प्रदेशसभामा मत विभाजन हुँदा मत तलमाथि गर्ने हिसाबले उपसभामुखले मुख्यमन्त्रीले मागेको समयमा बैठक नराखेको उनले बताए । उपसभामुखले ९ जना प्रदेशसभा सदस्यको बिदा स्वीकृत गर्ने उद्देश्यले मुख्यमन्त्रीले चाहेको समयमा विश्वासको मत लिन नदिएको राईले बताए ।