काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिस झाले नेपाली कांग्रेस वैद्धिक नेता स्वर्गीय प्रदीप गिरिको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशाला बनाउनुपर्ने बताएका छन्।
आज (सोमबार) काठमाडौँको प्रज्ञाभवनमा स्कुलअफ डेमोक्रेशीले गरेको प्रदीप गिरिको स्मृतिमा आयोजित ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषय कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन्।
‘सिरहामा प्रदीप गिरिको आश्रम छ। त्यसलाई लोकतान्त्रिक समाजवादको पाठशालाका रुपमा सुरक्षित राखौँ,’ उनले भने, ‘उहाँलाई सम्झिने यो कोलाहलमा होइन, त्यो बगैँचामा सान्दर्भिक हुने छ। जुन रुख उहाँले रोप्नु भएको छ। त्यसैले त्यो आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशाला बनायौँ।’
सबै राजनीतिक दलले यसका लागि पहल गर्नुपर्ने उनको भनाइ छ। ‘परिवारलाई केही आर्थिक स्रोत दिएर सन्तोष दिनुपर्छ भने त्यसका लागि पनि आँटौं। अब उहाँले रोप्नु भएको रुखलाई सम्झेर श्रद्धाञ्जली दियौं,’झाले भने।