प्रदिप गिरि अर्थात् बिपीको समाजवादको सतिसाल - Chaitanya News
  • 2026-11-16
  • 19:57:50
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रदिप गिरि अर्थात् बिपीको समाजवादको सतिसाल

    प्रदिप गिरि अर्थात् बिपीको समाजवादको सतिसाल

     

    प्रदिप गिरीले यस धराबाट विश्राम लिएको एक वर्ष पुगेको छ । प्रदीप गिरिको जन्म २००४ सालामा सिराहाको बस्तीपुरमा भएको थियो । बुबा मित्रलाल गिरि र पुन्यप्रभाका पुत्र गिरिले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।
    नेपालका सबैजसो शान्तिपूर्ण राजनीतिक आन्दोलनमा उनी सहभागी थिए । त्यसक्रममा उनी कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका सहयात्रीसमेत भए ।

    बिपीसँग उनको भारतको बनारसमा छात्र संघमा निर्वाचन लड्दादेखिको राजनीतिक संगत थियो । राजनीतिक संघर्षकै क्रममा गिरिले करिब तीन वर्ष जेलजीवन बिताए । ०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय उनी ०५६ को आमचुनावमा पराजित भए । ०६४ र ०७० को संविधानसभामा समानुपातिक सांसदको रूपमा संविधान लेख्ने कार्यमा सक्रिय गिरिले ३ असोज ०७२ मा जारी संविधानमा भने हस्ताक्षर गरेनन् । त्यसपछि ०७४ मा भएको संघीय निर्वाचनमा उनी प्रत्यक्षतर्फ निर्वाचित भए । पटक–पटक सांसद बनेका गिरिमा सत्ता प्राप्तिको लालसा कहिल्यै देखिएन । गिरिका लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

    दार्शनिक लेखक एवं विश्लेषक प्रदीप गिरिको निधनले मुलुकलाई बौद्धिक क्षति पुगेको थियो नै त्यसैअनुसार उनको निधनले मुलुकले एक असल नेता, स्थापित लेखक र कहलिएको साहित्यकार गुमाएको हो । उनको निधनपछि बिपी र बिपीको प्रजातान्त्रिक समाजवादप्रतिको धारणा राख्ने पछिल्लो पुस्तासमेतको अवसान भएको भनेर आज पनि सभा समारोहमा चर्चा परिचर्चा भइरहन्छ ।

    हुन त प्रदीप गिरि नेपालको समकालीन राजनीतिमा सादगी, चिन्तनशील र अध्ययनशील व्यक्तित्वका रुपमा स्थापित नाम हो । त्यसैले त चार÷चार पटकसम्म सांसद बनेका गिरिमा मन्त्री बन्ने चाह कहिल्यै जागेन । उनले सार्वजनिक रुपमै भन्ने गर्थे, ‘मन्त्री हुँदा स्वतन्त्रता गुम्छ, मैले मनमौजी गर्न मिल्दैन, मेरो आफ्नो स्वतन्त्रता र आफ्नैपनको जीवन गुम्न पनि सक्छ । मन्त्री भएपछि मेरा सबै जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने हुन्छ, म फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न नपाउने स्थितिमा पनि पुग्न सक्छु, मप्रति जनताका आशा अपेक्षा बढी होलान्, त्यसैले मलाई व्यक्तिगत जीवनमा हस्तक्षेप मान्य छैन ।’

    यही सन्दर्भमा पत्रकार एकराज पाठक भन्छन्, ‘गिरि नेपालका राजनीतिक नेता भन्दा बढी चिन्तक एवं दार्शनिक थिए । भनिन्छ, दार्शनिक एवं चिन्तकको भौतिक शरीर मात्र नष्ट हुन्छ तर उनीहरु मर्दैनन् । उनीहरुका चिन्तन, दर्शन एवं सिद्धान्त युगयुगसम्म जीवन्त रहन्छन् । त्यसैले त माक्र्सवाद अहिले कम्युनिष्टभन्दा बाहिरको घेरामा फैलिँदो छ । विपी कोइरालाका राष्ट्रियता, प्रजातन्त्र र समाजवाद अहिलेको नेपाली राजनीतिमा सबै विचारधाराको साझा विचार बनिरहेको छ । त्यसैले सर्जकहरु मर्दैनन् बरु चोला फेर्दछन् भनिएको हो । प्रदीप गिरिको भौतिक शरीरले यो भौतिक दुनियाँबाट विदा लिए पनि उनको विचारले थप युग सुहाउँदो विजारोपण गर्दै जानेछ । उनी आफ्ना विचार र निष्ठासहित नेपाली माटोमा सदा जिवितै रहनेछन् ।’

    राजनीतिमा पदमात्र ठूलो होइन, नैतिकता र निष्ठा ठूलो हो भन्ने यथार्थ उनको निधनप्रति वा पछि देशले व्यक्त गरेको यो भावनाले पनि अभिव्यक्त गर्दछ । उनको यो निष्ठालाई जोगाइराख्नु अहिलेका राजनीतिकर्मीको दायित्व पनि हो ।