काठमाडौं महानगरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने - Chaitanya News
  • 2026-11-16
  • 19:31:14
  • सोमबार,मंसिर ०१, २०८३
  • काठमाडौं महानगरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने

    काठमाडौं महानगरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने

    काठमाडौँ– काठमाडौँ महानगरपालीकालले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने निर्णय गरेको छ। महानगरले आज (सोमबार) एक सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ।

    सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिन श्रम बैंक सञ्चालन गर्न लागिएको कामनपाले जनाएको छ।

    सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सम्बन्ध सेतु बनाउनु श्रम बैंकको मुख्य उद्देश्य रहेको महानगरको भनाइ छ। महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको छ।

    योजना सञ्चालनसँगै बेरोजगार श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउने महानगरको विश्वास छ। यसबाट श्रम संस्कृतिको विकास हुनाका साथै वैदेशिक रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोकथाम गर्न मद्दत गर्ने महानगरले जनाएको छ।