काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई आज हुने भएको छ। आज (सोमबार) बिहान संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध परेका उजुरीमाथि उजुरीकर्तासँग छलफल पश्चात सुनुवाइ हुनेछ।
हिजो (आइतबार) बिहान सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरूबीच श्रेष्ठविरुद्ध परेका उजुरीबारे सामान्य छलफल भएको थियो। श्रेष्ठविरुद्ध तीवटा उजुरी परेको समिति सदस्य जीवन परियारले जानकारी दिए।
उनले भने,प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध ३ वटा उजुरी परेका छन्। उजुरीकर्तालाई सोमबार छलफलका लागि बिहान १०–३० बजे बोलाउने निर्णय भएको छ। प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि सोमबार नै संसदीय सुनुवाइ हुन्छ।
संसद सचिवालयका अनुसार दुईवटा इमेलबाट उजुरी परेका छन् भने एसके तिमिल्सेनाले भौतिकरूपमै उपस्थित भएर उजुरी दिएका छन्।
यसअघि साउन २३ गते बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो। साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि श्रेष्ठ प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्।