काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेकपा एमाले सत्ता बाहिर बस्नु परेका कारण छट्पटाएको बताएका छन्।
आज (आइतबार) पार्टीको युवा विशेष महाशाखाको बैठकलाई मुख्यालय कोटेश्वर पेरिसडाँडा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले लगातार तीन वर्षसम्म सत्ता बाहिर बस्नुपर्दा एमाले छट्पटिएको बताएका हुन्।
एमालेले जेसुकै विषयमा पनि संसद अवरुद्ध गरेर संसदलाई बन्दी बनाउनुको कारण सोही छटपटीको अभिव्यक्ति भएको उनको भनाइ थियो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकारले सुशासनका पक्षमा र भ्रष्टाचार अन्त्यका लागि चालेका कदममा यो वा त्यो नाममा विरोध गरेर एमालेले आफूलाई जनताको नजरमा गिराउने काम गरेको उनले आरोप लगाए।
‘भ्रष्टाचारविरुद्धका कुरा उठ्दा, सुशासनका कुरा उठ्दा होस् वा वैदेशिक सम्बन्धमा कुरामा होस् सकारात्मक विषयमा पनि प्रतिपक्षी भूमिका निर्वाह गर्ने नाममा नकारात्मक प्रतिक्रिया दिनु एमाले नेतृत्वको धर्म जस्तै भएको छ’, उनले भने, ‘तीन वर्ष सत्ता बाहिर बस्नुपर्दाको छटपटाहट संसद् र बाहिर र भित्रबाट सकारात्मक कामको विरोध गर्नुले पुष्टि गर्छ।’