काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्ताैलाले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गरेको बताएका छन। आज (आइतबार) संघीय संसद भवन अगाडी पत्रकारहरुसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
यस्तै बर्तौलाले सत्तापक्षकै नेताहरू सो प्रकरणमा मुछिएपछि सरकारले उनीहरूलाई उन्मुक्ति दिनेगरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गरेको आरोप लगाए।
उनले सीआईबीलगायतका सरकारी निकाय सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि आफूहरूलाई त्यसले स्वतन्त्र र निष्पक्ष ढङ्गले सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर गरे।
सचेतक बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएकोले त्यसबाट पछि हट्न नसकिने अडानसमेत दोहोर्याए।
उनले भने, ‘उच्चस्तरीय छानबिन समितिको माग त अझ यसको औचित्यता, आवश्यक्ता अझ बढेर गएको छ। तपाईँ सबैले देखिरहनुभएको छ। अनुसन्धानको तहमा क्रियाशील भएका प्रहरी अधिकारीहरूलाई एकपछि अर्को अनुसन्धानको सुई जब सत्तापक्ष व्यक्तितर्फ, मुर्धन्य व्यक्तितर्फ सोझिन थाल्यो। त्यसपछि सत्ता घटकलाई प्रहरी अधिकारीलाई सरुवा गर्नु पर्यो। यसले के देखाउँछ भने राज्य मातहतका निकायबाट सीआईबी होस वा राजश्व अनुसन्धान विभाग होस्। यी कुनै पनि इकाईले निष्पक्ष, स्वतन्त्र ढङ्गले काम गर्न सकिराखेको छैन। सरकारले यसमा नियन्त्रण गरिराखेको छ। सरकारले आफ्नो उद्देश्य र अभिष्ट साँध्नका लागि त्यस बमोजिम काम गरिराखेको छ भन्ने कुरा देखिन्छ। त्यसकारण नेकपा एमालेले सुन तस्करसँग जोडिएको, यी तस्करका समग्र जालोलाई समाप्त पार्नुपर्छ भन्ने कोणबाट उठाएको यो माग हाम्रो जारी छ। हामी यो मागबाट फिर्ता हुँदैनौँ।