ललितानिवास प्रकरणमा रोकियो माधव र बाबुरामको बयान - Chaitanya News
  • 2026-11-16
  • 19:57:10
  • सोमबार,मंसिर ०१, २०८३
  • ललितानिवास प्रकरणमा रोकियो माधव र बाबुरामको बयान

    ललितानिवास प्रकरणमा रोकियो माधव र बाबुरामको बयान

    काठमाडौं– ललितानिवासको सरकारी जग्गा हडपेको प्रकरणमा सरकारी वकिलको कार्यालय, काठमाडौंले शुक्रबारसम्म अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई ताकेता गरेको छ। त्यसअनुसार प्रहरी प्रतिवेदन लेखनको अन्तिम तयारीमा जुटेको छ।

    तर, प्रतिवेदन बुझाउने अन्तिम दिनसम्म पनि पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान समेत लिइएको छैन।

    तत्कालीन पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई उन्मुक्ति दिएको भन्दै प्रश्न उठेका बेला सर्वोच्च अदालतले २१ साउनमा मन्त्रिपरिषदको निर्णय तथा कार्य प्रमाणित गरी कार्यान्वयन गर्ने तहमा संलग्नहरुमाथि अनुसन्धान गर्न आदेश दिएको थियो।

    आदेशमा पूर्वप्रधानमन्त्रीद्वयको नाम नतोके पनि पदसोपान (अनुसन्धानकर्ताको सवाल बमोजिम पिरामिडको माथिल्लो तह) बाटै अनुसन्धान गर्न भनिएको थियो। त्यसपछि सरकारी वकिलसँग समन्वय गरेर ब्यूरोले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईको बयान लिने निर्णय गरेको थियो।

    स्रोतका अनुसार, त्यसअनुसार सीआईबी नेतृत्वले नेपाल र भट्टराईको सचिवालयलाई बयानका लागि आउनुपर्ने परिस्थिति बनेको भन्दै जानकारी गराएको थियो। त्यो सूचना पाएपछि युरोप भ्रमणमा रहेका नेपाल भ्रमण छोट्याएर गत सोमबार स्वदेश फर्किएका थिए।

    सुरक्षा स्रोतका अनुसार, बयान दिनुपर्ने सूचना नपुगेको भए नेपाल १ भदौमा स्वदेश फर्किने तयारी थियो।

    भट्टराई पनि बयानका लागि बोलाउने तयारी हुँदा पश्चिमतिरको यात्रामा थिए। नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार, बयानका लागि बोलाएपछि उनी पनि हतारिएर काठमाडौं आएका थिए।

    ललितानिवास प्रकरणको अनुसन्धानमा संलग्न अधिकृतहरु पनि पूर्वप्रधानमन्त्रीद्वयको बयान लिन प्रश्नावलीहरु तयार गरेर बसेका थिए।

    तर, सोमबार बेलुकी बसेको सत्ता गठबन्धन बैठकपछि प्रहरी नेतृत्व पूर्ववत् निर्णयप्रति नरम बन्यो। फाइल नबुझाउञ्जेल जतिसुकै बेला बयान लिनुपर्ने हुनसक्ने भन्दै तयार भएर बसेका अनुसन्धान अधिकृतहरु अब लगभग पूर्वप्रधानमन्त्रीद्वयको बयान नहुने निष्कर्ष सुनाउन थालेका छन्। किनकि, अनुसन्धान अधिकृतहरुसँग अब फाइल बुझाउन बाँकी समय धेरै छैन।

    प्रहरीका एक उच्च अधिकृतका अनुसार, पूर्वप्रधानमन्त्रीद्वयलाई बयानका लागि बोलाउन ‘गलत नजिर बस्न सक्ने सम्भावना’ रहेको तर्क राजनीतिक नेतृत्वको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सम्पादकहरुसँग गरेको छलफलमा अदालतको आदेशपछि अप्रत्यक्ष रुपमा असन्तुष्टि जनाएका थिए।

    ‘एउटा प्रश्न स्वभावैले उठेको छ। हामी अघि बढी नै राखेका थियौं। झन्डै–झन्डै मन्त्रीहरूसम्म पुगिसकेकै थियौं। हुनसक्छ पूर्वप्रधानमन्त्रीहरूसम्म पनि कुनै न कुनै रूपमा पुग्ने थियौं’, प्रचण्डले भनेका थिए, ‘बीचैमा अदालतले ढ्याक्कै लौ त्यहाँ पनि जाऊ भन्न किन पर्यो होला? के कारणले भन्ने प्रश्न उठेकै छ। यो जस्तो आँखाले देखिन्छ, त्यस्तै मात्र होइन कि भन्ने मलाई लागेको छ।