सरकारलाई अप्ठेरो पारेर भ्रष्टाचारविरुद्धको अभियान रोकिन्छ भनेर कसैले नसोचे हुन्छ : गृहमन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-11-16
  • 19:57:20
  • सोमबार,मंसिर ०१, २०८३
  • सरकारलाई अप्ठेरो पारेर भ्रष्टाचारविरुद्धको अभियान रोकिन्छ भनेर कसैले नसोचे हुन्छ : गृहमन्त्री श्रेष्ठ

    सरकारलाई अप्ठेरो पारेर भ्रष्टाचारविरुद्धको अभियान रोकिन्छ भनेर कसैले नसोचे हुन्छ : गृहमन्त्री श्रेष्ठ

    गोरखा – गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारलाई अप्ठेरो पारेर भ्रष्टाचारविरुद्धको अभियान रोकिन्छ भनेर कसैले नसोचे पनि हुन्छ भन्दै आक्रोश व्यक्त गरेका छन। सरकारले शुरुवात गरेको भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र कोही पनि दोषी उम्कन नसक्ने बताए। गोरखाको अजिरकोट गाउँपालिका–३ को भच्चेक आधारभूत अस्पतालको आज शुक्रवार उद्घाटन गर्दै उनले वर्तमान सरकार रहुन्जेलसम्म भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताए।

    ‘कोही निर्दोष पस्ने काम हुँदैन’, उनले भने तर कोही दोषी र अपराधीलाई छोड्ने काम पनि हुँदैन, जुन दिनसम्म सरकार रहन्छ त्यति बेलासम्म सुशासनको अभियानलाई सरकारले अझ प्रभावकारी रूपमा निरन्तर अगाडि बढाउनेछ।’ उनले अपराध गर्नेलाई अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा कानुनको दायरामा ल्याएर दण्डित गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

    ‘मिटरब्याजी पीडित नागरिकलाई न्याय दिन मिटरब्याजीविरुद्धको अभियान पनि चल्दैछ’, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘जतिजति सुशासनको अभियान चल्दैछ र नागरिकको पक्षमा काम हुँदैछ, त्यतित्यति नै भ्रष्टाचारी र तस्कर आत्तिएर सरकारलाई अगाडि बढ्न नदिन, भाँजो हालेर रोक्नका लागि विभिन्न षड्यन्त्र गरिरहेका छन्।’ उनले राम्रो काम गर्दा खराब प्रवृत्तिका विरुद्धमा जुध्नुपर्छ भन्ने कुरा आफूहरूले राम्रोसँग बुझेको बताए।

    सरकारले राम्रो काम गर्न थालेपछि नराम्रो काम गर्नेले त्यसलाई सहजै अगाडि बढ्न दिँदैनन्’, उनले भने, ‘यो नियम नै हो, यस कारण अहिले दलाल, ठग, भ्रष्टाचारी र तस्कर छटपटियो, तिनका संरक्षक सलबलायो, सरकारलाई अप्ठेरो पार्‍यो भनेर तै चुप मै चुप भएर बस्ने पक्षमा सरकार छैन, त्यसरी हामी बस्दैनौँ।’

    गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनपछि देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्ने र आमनागरिकको दैनिक जीवनका आवश्यकता पूरा गर्दै आनन्दले बाँच्न पाउने गरी नागरिकले नयाँ जीवनको अनुभूति गर्ने खालको समाज रूपान्तरण गर्न चाहेको बताए। ‘अब नागरिकले आनन्दले बाँच्न पाइयो, दैनिक जीवनका आवश्यकता पूरा पनि भयो र हामीले नयाँ जीवन पायौँ भनेर अनुभूति गर्न पाओस्’, उनले भने, ‘भ्रष्ट, अपराधी, दलाल र तस्करले भने अब हाम्रा दिन गएछ भनेर बुझ्ने दिन आओस्, हामी त्यस्तो देश बनाउन चाहान्छौँ।’