१० महिनाको वस्तु तथा सेवा आयात धान्ने पुग्ने विदेशी मुद्रा सञ्चित - Chaitanya News
  • 2026-05-26
  • 13:53:30
  • मंगलबार,जेठ १२, २०८३
  • १० महिनाको वस्तु तथा सेवा आयात धान्ने पुग्ने विदेशी मुद्रा सञ्चित

    १० महिनाको वस्तु तथा सेवा आयात धान्ने पुग्ने विदेशी मुद्रा सञ्चित

    काठमाडौं– गत आर्थिक वर्षको अन्तिममा आउँदा १० महिनाको वस्तु तथा सेवा आयात धान्ने पुग्ने विदेशी मुद्रा सञ्चित भएको छ।

    मौद्रिक नीतिले ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चित राख्ने लक्ष्य लिएको थियो।

    नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९–८० को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार मौद्रिक नीतिको लक्ष्य भन्दा बढी विदेशी मुद्रा सञ्चित भएको हो।

    आर्थिक वर्ष २०७९–८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्राले ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।

    गत आर्थिक वर्षको पुससम्म सरकारले आयात नियन्त्रणका लागि एलसीमा नगद मार्जिन लगायतका कडाइ गरेको थियो।

    आर्थिक वर्षको सुरुमा आयातमा कडाइ र त्यसपछि आर्थिक गतिविधि कमजोर हुँदा आयातमा संकुचित हुँदा गत आर्थिक वर्षमा आयातमा भएको संकुचनले मौद्रिक नीतिको लक्ष्यभन्दा धेरै विदेशी मुद्रा सञ्चित भएको हो।

    रेमिट्यान्समा २१ प्रतिशतले वृद्धि भएर १२ खर्ब नाघेको र आयात १६ प्रतिशतले गिरावट हुँदा शोधनान्तर स्थितिसँगै विदेशी मुद्रा पनि उल्लेख्य रुपमा सञ्चित भएको हो।

    २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबरको विदेशी मुद्रा सञ्चित रहेकोमा २०८० असार मसान्तमा आउँदा २६।६ प्रतिशतले बढेर १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ।

    २०७९ असार मसान्तसम्मा ९ अर्ब ५४ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्जिच रहेकोमा २०८० असार मसान्तमा २३।१ प्रतिशतले बढेर ११ अर्ब ७४ करोड कायम भएको छ।

    १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकसँग र १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको छ। २०८० असार मसान्तको कुल विदेशी मुद्रा सञ्चितीमा भारतीय मुद्राको अंश २२।५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

    २०८० असार मसान्तमा विदेशी मुद्रा सञ्चितीको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए।