सभामुखलाई प्रधानमन्त्रीले भने: सदनको अवरोध खुलाउन म पहल गर्छु, तपाईँ पनि लाग्नुहोस् - Chaitanya News
  • 2026-11-16
  • 20:11:22
  • सोमबार,मंसिर ०१, २०८३
  • सभामुखलाई प्रधानमन्त्रीले भने: सदनको अवरोध खुलाउन म पहल गर्छु, तपाईँ पनि लाग्नुहोस्

    सभामुखलाई प्रधानमन्त्रीले भने: सदनको अवरोध खुलाउन म पहल गर्छु, तपाईँ पनि लाग्नुहोस्

    काठमाडौँ– लामो समयदेखि अवरुद्ध संघीय संसद्को बैठक नियमित रूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच आज छलफल भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले सदनको व्यवधान खुलाउन आफूले पहल गर्ने बताए। उनले भने, ‘म सदन खुलाउन भूमिका खेल्छु। तपाईँ पनि लाग्नुहोस्। छिट्टै सहमति गर्नैपर्छ। म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु।’

    राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलमा सुन बरामद गरेको थियो। साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संघीय संसद्का दुवै सदनको बैठक अवरोध गर्दै आएको छ। उच्चस्तरीय छानबिन समितिको माग गर्दै भइरहेको अवरोधका कारण सदनको नियमित काम कारबाही अघि बढ्न सकेको छैन। सरकारले भने सरकारी निकाय र अङ्गले नै निष्पक्ष छानबिन गर्ने स्पष्ट पार्दै आएको छ।

    आजको भेटमा सभामुख घिमिरेले सदन नचल्नु राम्रो भएन भन्दै तत्काल पहल थाल्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए। ‘माननीयहरूले बोल्न समय माग्नुभएको छ। प्राकृतिक विपत्तिलगायतका विषयमा माननीयले बोल्न पाइनँ भन्नुहुन्छ। दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन’, सभामुख घिमिरेले भने, ‘आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्। कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस्।’