काठमाडौँ– गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार अप्ठे्यारोका परेपनि भ्रष्टाचारविरूद्धको अभियान कुनै पनि हालतमा नरोकिने बताएका छन।
आज (शुक्रबार) गोरखामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले भ्रष्टाचारी, ठग र तस्करहरूलाई संरक्षण गर्ने तत्वहरू सलबलाउन थालेका र उनीहरू यो अभियानलाई कसरी भाँजो हाल्न सकिन्छ भन्ने षड्यन्त्र गरिरहेका भएपनि उनीहरूका षड्यन्त्रले सरकारको अभियान नरोकिने बताए।
सरकार अप्ठ्यारोमा पर्छ भनेपनि सुशासनको अभियान रोक्ने पक्षमा वर्तमान सरकार नरहेको उनले बताए।
‘तस्कर र ठग, भ्रष्टाचारीका संरक्षकहरूले सरकारलाई अप्ठ्यारो पारे भनेर तैँ चुप मै चुप भएर बसौँ, पहिला जे छ त्यस्तै गरी चलौँ भन्ने पक्षमा सरकार छैन,’ उनले भने।
मन्त्री श्रेष्ठले सरकारलाई धम्काएर र घेराबन्दी गरेर कसैले आफ्नो सपना पूरा हुन्छ भन्ने नसोच्न पनि आग्रह गरेका छन्।