काठमाडौं– काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्षको जिम्मेवारी डा. सुमननरसिंह राजभण्डारी नियुक्त भएका छन्। आज (विहीबार) बसेको महानगरपालिकाको २१ औं कार्यपालिका वैठकले राजभण्डारीको नाम सर्वसम्मतले स्वीकृत गरेको हो।
शहरी योजना आयोगको उपाधयक्षमा राजभण्डारीको नाम पेश भएपछि कार्यपालिका सदस्यहरुले यसअघिका उपाध्यक्ष तेजेन्द्र खड्कलाई किन नियुक्ति गरेको र किन हटाएको भन्दै प्रश्न गरेका थिए। जवाफमा मेयर बालेन शाहले यसअघिका उपाध्यक्ष लामो विदामा बस्न खोजेपछि पदलाई खाली राख्न नहुने भन्दै राजभण्डारी नियुक्त गर्न प्रस्ताव गरेको बताएका थिए।
कार्यपालिका वैठकमा बालेनले राजभण्डारीलाई पहिले नै नियुक्त गर्न खोजे पनि राष्ट्रिय योजना आयोगमा जाने तयारीको कारण रोकिएको समेत बताएका छन्। राजभण्डारी बालेनसँग निकट स्ट्रक्चरल इन्जिनियर हुन्। राजभण्डारीलाई मेयर हुनुअघि बालेनले इन्जिनियरिङको काममा सहयोग गर्दै आएका थिए।
चालु आर्थिक वर्षमा सहरी योजना आयोगमा महानगरले ४ करोड ९० लाख रुपैयाँ बजेट रहेको विनियोजन गरेको छ । योजना आयोगका उपाध्यक्षले मेयर र कार्यपालिका मार्फत बजेटमा योजनाहरुको छनोट लगायतको काम गर्छ ।
महानगरको सहरी योजना आयोगको उपाध्यक्ष हुन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेर सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेर विशिष्टता हासिल गरेको हुनुपर्ने उल्लेख छ । काठमाडौं महानगरपालिका सहरी योजना आयोग उपाध्यक्षले नेपाल सरकारको सचिवले पाएसरह सुविधा पाउँछन् ।