काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको मुद्दा लगाउमा राख्न आदेश दिएको छ।
यस्तै पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वमन्त्री टोपबहादुर रायमाझीले समेत मुद्दा पुनरावलोकनको लागि निवेदन दिएका छन्।
त्यसैकारण उच्च अदालतले बालकृष्ण र टोपबहादुरको निवेदनसँगै आज सुनुवाइ भएका दशैजनाको अर्को पेशी एकै पटक पेश गर्न आदेश दिएको हो।
उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा आज पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइ भएको थियो। उक्त सुनुवाइपछि बाँकी प्रतिवादीहरूले पनि जिल्ला अदालत काठमाडौँको फैसला पुनरावलोकन गर्न निवेदन गरेको देखिएकाले एकै पटक पेश गर्न आदेश दिइएको हो।
थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उनीहरू उच्च अदालत पाटन पुगेका थिए। बालकृष्ण र टोपबहादुरलगायतको निवेदन भने पेसीमा चढेको छैन।
बिहीबारको पेसीमा निलम्बित सचिव टेकनारायण, पूर्वसुरक्षा सल्लाहकार डा। इन्द्रजीत राई, नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मिया र गोविन्द चौधरीको निवेदनमाथि सुनुवाइ सकिएको छ।