सशस्त्र प्रहरीको एसएसपीमा १२ जनाको नाम सिफारिस - Chaitanya News
  • 2026-11-16
  • 20:20:33
  • सोमबार,मंसिर ०१, २०८३
  • सशस्त्र प्रहरीको एसएसपीमा १२ जनाको नाम सिफारिस

    सशस्त्र प्रहरीको एसएसपीमा १२ जनाको नाम सिफारिस

    काठमाडौं– सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा १२ जनाको नाम सिफारिस भएको छ।

    नाम सिफारिस हुनेहरू सबै सि.संं.२ का सशस्त्र प्रहरी उपरीक्षकहरू हुन्। उनीहरू २०७५ चैत्र १५ गते सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरू हुन्।

    सि.सं.को दोस्रो टोली २०७७ जेठ ५ गते एसपी बढुवा भएकोमा बिहीवार सिफारिस भएका सबै पहिलो चरणमा एसपी भएकाहरू मात्रै छन्।

    सो समूहका १५ जना यसअघि नै एसएसपी भइसकेका छन् भने बाँकी १९ मध्ये बिहीवार १२ जनाको नाम सिफारिस भएको छ।

    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हालेदेखि नै वृत्तिविकासमा ध्यान दिँदै संगठनलाई नीतिनियमअनुसार अघि बढाउन खोजेसँगै सरुवा–बढुवा लगायतमा व्यापक परिवर्तन गर्दै पारदर्शी ढंगले काम हुन थालेको छ। साउन महिनामा मात्रै एसएसपीदेखि सहायक हवल्दारसम्म ६ हजारभन्दा बढी कर्मचारीको एकैपटक बढुवा भएको छ।

    यसपटक ओ एण्ड एम नभएको भए जम्मा ४ जना मात्र एसएसपीमा बढुवा हुने अवस्था थियो भने डीएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने अवस्था थियो। महानिरीक्षक अर्यालले सोही समस्यालाई समाधान गर्नका लागि पहल गरेसँगै बढुवाको जाम अन्त्य भएको छ।

    संगठनको इतिहासमा नै यस प्रकारको बढुवा पहिलो पटक भएको जनाइएको छ। सशस्त्र प्रहरीमा वर्षौंदेखि रहेको वृत्तिविकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापन (ओ एण्ड एम) मार्फत केही दरबन्दी थप र केही पदहरू समायोजन भएका थिए।

    यस क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृतहरू एकैपटक बढुवा हुने भएका छन् भने बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ।

    हाल भएका सबै दर्जाको बढुवामा समेत बाहिरी प्रभाव लगभग शून्य भएको छ भने कार्यसम्पादन, मूल्यांकन, ज्येष्ठता, व्यावसायिक क्षमता लगायत नियमावलीमा उल्लेख गरिएको बढुवा सम्बन्धी आधारलाई लिएर बढुवा गरिएको छ। बढुवामा गृह मन्त्रालयको समेत कुनै हस्तक्षेप नरहेको जनाइएको छ।