संस्कृत भाषा पढ्दै पर्वतका निजामती कर्मचारी - Chaitanya News
  • 2026-05-02
  • 22:00:17
  • शनिबार,बैशाख १९, २०८३
  • संस्कृत भाषा पढ्दै पर्वतका निजामती कर्मचारी

    संस्कृत भाषा पढ्दै पर्वतका निजामती कर्मचारी

    पर्वत– जिल्ला समन्वय समितिका समन्वय अधिकारी नेत्र पौडेलले पर्वतका निजामती कर्मचारीले संस्कृत भाषा पढ्न थालेको बताएका छन। उनले भने विसं २०५६– ५७ देखि विद्यालय तहका पाठ्यक्रमबाट हटाइएको संस्कृत भाषाको जगेर्ना गर्ने उद्देश्यले यहाँका निजामती कर्मचारीले संस्कृत भाषा सिक्न थालेका हुन्।

    पछिल्लो समय हरेक क्षेत्रमा संस्कृत भाषाको प्रयोग र महत्त्व बढ्दै जानुका साथै विभिन्न धार्मिक ग्रन्थ, लिपि र ऐतिहासिक दस्तावेजको अध्ययन गर्न टेवा पुग्ने भएकाले संस्कृत भाषा कक्षा सञ्चालन गरिएको पौडेलले जानकारी दिए।

    संस्कृत देवनागरी लिपिमा लेखिएको पुरानो भाषा रहेको भन्दै उनले वेदमा बोलिने वैदिक र लौकिक भाषालाई जगेर्ना गर्दै व्यवहारिक ज्ञान रूपान्तरण गर्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताए।

    सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा गत मङ्गलवारदेखि साँझ ५ –१५ बजेदेखि एक घण्टा संस्कृत कक्षा सञ्चालन गरिएको पौडेलले जानकारी दिए। उनले भने संस्कृत भाषा पढ्नका लागि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यको नेतृत्वमा जिल्ला समन्वय अधिकारी पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेललगायत जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, नगरपालिका तथा गाउँपालिकाका कर्मचारीको सहभागिता रहेको छ।

    कर्मचारीलाई पढाउन सुदर्शन प्रपन्नाचार्य खटिएका छन्। प्रपन्नाचार्यका अनुसार न्यूनतम एक महिनाको सिकाइले संस्कृत भाषा अध्ययन गर्न, बोल्न र दोहोरो संवाद गर्न सक्ने हुनुहुनेछ। दुईदेखि तीन महिनासम्मको कक्षा लिएपछि धार्मिक कर्मकाण्डसमेत गर्नरगराउन सकिने उनको भनाइ थियो।