रेशम चौधरीको नेतृत्वमै टीकापुर घटना भएको सर्वोच्चको ठहर - Chaitanya News
  • 2026-11-16
  • 20:12:22
  • सोमबार,मंसिर ०१, २०८३
  • रेशम चौधरीको नेतृत्वमै टीकापुर घटना भएको सर्वोच्चको ठहर

    रेशम चौधरीको नेतृत्वमै टीकापुर घटना भएको सर्वोच्चको ठहर

    काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको नेतृत्वमै टीकापुर घटना भएको सर्वोच्चको ठहर छ। सर्वोच्च अदालतले बहुचर्चित टीकापुर घटनासम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै त्यसलाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ। चौधरीमाथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई सर्वोच्च अदालतले नै गम्भीर प्रश्न उठाएको छ।

    सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्का रहित तवरले पुष्टि हुन आयो।

    सर्वोच्च अदालतको यो फैसलाले रेशम चौधरीमाथिको माफीमिनाहा बदर हुने अवस्था देखापरेको पूर्व महान्यायाधीवक्ता एवं बरिष्ठ अधिवक्ता रमेश बडालले बताए।

    ‘एक त फैसलाको पूर्णपाठ नआउदै सरकारले माफीमिनाहाको प्रक्रिया अघि बढाएर राष्ट्रपतिबाट निर्णय गराएको थियो, त्यो आफैमा गलत थियो’ बडालले अनलाईनखबरसँग भने, ‘अर्कोतर्फ क्रुरतापूर्वक र अमानविय रुपमा ज्यान मारेको घटनामा माफीमिनाहाको परिकल्पना कानूनमा छैन। सर्वोच्च अदालतको यो फैसलाले घटनालाई अत्यन्त अमानविय र सम्भव समाजमा कल्पना गर्न नसकिने घटना भनेपछि त्यसमा संलग्नहरुले कसरी माफी मिनाहा पाउने अवस्था हुन्छ र?

    नेपालको संविधानको धारा २७६ मा माफी मिनाहाको व्यवस्था छ। जसमा भनिएको छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ।