संसद खुलाउन राष्ट्रपति नै सक्रिय - Chaitanya News
  • 2026-11-16
  • 20:11:52
  • सोमबार,मंसिर ०१, २०८३
  •  संसद खुलाउन राष्ट्रपति नै सक्रिय

     संसद खुलाउन राष्ट्रपति नै सक्रिय

    काठमाडौं  –  पछिल्लो समय  नेकपा एमालेले  संसद अवरुद्ध  गर्दै  आएको  छ ।  क्विन्टल सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले   पटक पटक प्रतिनिधिसभा बैठक अवरोध गरेको छ  ।

    एमालेका कारण संघीय संसदका दुबै सदनका बैठक स्थगित भए ।साउन १० गते यता प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक चल्न दिएको छैन ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट गत साउन २ गते बरामद भएको सुनका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै एमालेले सदनमा लगातार अवरोध गर्दै आएको हो ।

    सोहि क्रममा  संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा जारी अवरोध खुालउन राष्ट्रपति रामचन्द्र पौडेल आफुले नै पहल थालेका छन् । सभामुख, राष्ट्रिय सभाका अध्यक्षदेखि प्रमुख विपक्षी दलको नेतालाई राष्ट्रपति भवन शितल निवासमै बोलाएर पौडेलले संघीय संसदको गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गरेका हुन् ।

    एमालेको नाराबाजी र वेल घेराउले प्रतिनिधि सभा बैठक भदौ ३ गतेसम्म र राष्ट्रिय सभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । यसबीचमा संसदको गतिरोध हटाउन राष्ट्रपति पौडेलले पनि पहल थालेका हुन् ।

    राष्ट्रपति पौडेलले बुधबार दिउँसो प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग शितलनिवासमा भेटवार्ता गरे । भेटवार्ता संसदको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको थियो ।

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले सदनको गतिरोध अन्त्य गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

    राष्ट्रपति पौडेलले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका अन्य नेताहरूलाई समेत भेटेर विश्वासको वातावरण सिर्जना गरी सदन चल्ने वातावरण बनाउन पनि आग्रह गर्दै आएका छन् । एमालेले आफूहरूले भन्दा पनि सत्तारुढ दलहरु नै प्रमुख विपक्षीको माग वेवासता गरेर सदन चलाउन नचाहेको आरोप लगाउँदै आएको छ ।

    यसअघि यही साउन २६ गते राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शितल निवासमै छलफल गरेका थिए ।

    सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग सदनको अवरोध खुलाउन भएका पहलबारे राष्ट्रपतिले जानकारी लिएका थिए । त्यसक्रममा सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदन खुलाउने पहल लिइदिन राष्ट्रपतिसमक्ष समेत आग्रह गरेका थिए । भेटमा सभामुख घिमिरेले पटक–पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गरेको विषय राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

    उनले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट सहयोगको अपेक्षा गरेको दोहोर्‍याएका थिए ।  राष्ट्रपति पौडेलले साउन २५ गते प्रधानमन्त्री प्रचण्डसँग शितल निवासमै भेटवार्ता गरेका थिए ।