काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतलाई एक लाख मेट्रिकटन चामल र ५० हजार मेट्रिकटन धानको माग गर्दैै भारतलाई पत्र पठाएको छ।
आउँदै गरेको दसैँ र तिहारमा हुन सक्ने खाद्यान्न अभाव र मूल्यवृद्धिलाई लक्षित गरी सरकारले खाद्यान्न आयात गर्न लागेको हो। मन्त्रालयका प्रवक्ता राधिका अर्यालले परराष्ट्र मन्त्रालयमार्फत खाद्यान्न माग गर्दै पत्राचार गरेको जानकारी दिइन्। उनलृ भनिन अघिल्लो हप्ताको मंगलबार पत्राचार गरेका हौ, एक सातासम्म पनि कुनै जवाफ आएको छैन।
त्यस्तै, दसैं–तिहारलाई लक्षित गरेर ५० हजार मेट्रिकटन चिनी पनि ल्याउने मन्त्रालयको तयारी छ। अघिल्लो वर्ष चिनी उद्योगीबाटै कम चिनी उत्पादन भएको भन्दै व्यापारीले आगामी दिनमा चिनी अभाव र मूल्य बढ्न सक्ने बताएका थिए। गत वर्ष आयात गरेको ४० हजार मेट्रिकटन चिनी सकिएको र अब ५० हजार मेट्रिक टन ल्याउँदा पर्याप्त हुने उनको भनाइ छ। बजारमा चिनीको मौज्दात कम हुँदा व्यापारीले किलोमै १० रुपैयाँले मूल्य बढाएका छन्। त्यस्तै, भारतले समेत बासमतीबाहेकको चामलमा प्रतिबन्ध लगाउँदा चामलको मूल्यमा बोरामै दुई सय रुपैयाँसम्मले बढेको थियो।
भारतले चामल निर्यातमा रोक लगाएपछि साउन ४ र ६ गते मुख्यसचिव डा। वैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकमा देशभरका गोदाममा आवश्यक खाद्यान्न भण्डारणको व्यवस्था गर्नसमेत निर्देशन दिएका थिए।