प्रधानमन्त्री र बालेनबीच सिंहदरवारमा छलफल, बालेनले उठाए दुई मुद्दा - Chaitanya News
  • 2026-11-16
  • 20:36:16
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानमन्त्री र बालेनबीच सिंहदरवारमा छलफल, बालेनले उठाए दुई मुद्दा

    प्रधानमन्त्री र बालेनबीच सिंहदरवारमा छलफल, बालेनले उठाए दुई मुद्दा

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह‘ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डबीच छलफल भएको छ।

    लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका मेयर ‘बालेन’ले सिंहदरवारमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग छलफल गरेका हुन्।

    सरकारका केही मन्त्रीहरूसमेत सहभागी उक्त छलफल काठमाडौँको सुकुम्वासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा केन्द्रित थियो।

    स्रोतका अनुसार हालै मात्र बालेनले प्रधानमन्त्री दाहालसँग भेटेर यी दुई समस्यालाई सहजीकरण गर्न सरकारसँग आग्रह गरेका थिए। त्यसपछि प्रधानमन्त्रीले सरोकारवाला मन्त्रीहरूलाई समेत बोलाएर बैठक राखेका हुन्। बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, भूमिसुधार मन्त्री, सामान्य प्रशासनमन्त्री, सहरी विकास मन्त्री तथा ती मन्त्रालयका सचिवहरूको सहभागिता थियो।

    काठमाडौँका विभिन्न स्थानमा सार्वजनिक जग्गा ओगटेका सुकुम्बासीहरुलाई हटाउन महानगरले प्रयास गर्दै आएको छ। तर, महानगरको प्रयासमा गृहलगायतका मन्त्रालय सहयोग र समन्वय नगरेको गुनासो महानगर प्रमुख शाहले गर्दै आएका छन्।

    आजको बैठकमा उनले यस विषयमा ब्रिफिङ गरेका थिए। यसैगरी तीनकुनेमा पार्क निर्माणका लागि अधिग्रहण गरिएको २४ रोपनी जग्गाको मुआब्जा वितरण नभएको विषयमा पनि उनले प्रधानमन्त्री र मन्त्रीहरूको ध्यानाकर्षण गराए।

    दुवै विषयलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिएर सकारात्मक जवाफ दिएको महानगरले स्रोतले जनाएको छ।

    बैठकमा महानगरका तर्फबाट मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ३२ नम्बर वडाका वडाध्यक्ष पनि सहभागी थिए। बैठक करिब डेढ घण्टा चलेको थियो।