भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वमाझ गौरवपूर्ण पहिचान बनाउन सकेको नेपालको धार्मिक संस्कृति, परम्परा र पहिचानलाई जोगाउन युवा वर्ग लाग्नुपर्ने बताएका छन।
पत्नी राधिका शाक्यसहित सूर्यविनायक नगरपालिका–८ स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको भ्रमण, अवलोकन, पूजा एवं आरती गर्न आएका अध्यक्ष ओलीले धार्मिक पर्यटकीय गन्तव्य भक्तपुरको विकासको आधार भएको उल्लेख गरे।
“हाम्रो गौरवपूर्ण धर्म, संस्कृति, परम्परा, सम्झिएर विश्वका नागरिक नेपाल घुम्न आउँछन्, पूजा दर्शन गर्न आउँछन्, हामी पनि हाम्रा परम्परागत कार्य गर्छौँ, सांस्कृतिक, संस्कार गर्ने कार्यमा सरिक हुन्छौँ,” अध्यक्ष ओलीले भने, यस्ता धर्म, चाडबाडले हाम्रो देशको महिमा विश्वमा बढाएको छ, धेरै विकसित देशमा यस्ता संस्कृति परम्परा छैनन्, सनातन धर्म भन्ने नै छैन, त्यसैले हाम्रो देश अत्यन्तै गौरवपूर्ण छ।
यही साउन १ गतेदेखि सुरु भएको यहाँको मेलामा स्वदेश तथा विदेशबाट आउने दर्शनार्थीको उल्लेख्य उपस्थितिले धार्मिक महत्त्व बढाइरहेको उल्लेख गर्दै उहाँले मन्दिरको पुनर्निर्माण सुरुदेखि नै आफूले सहयोग गर्दै आएको बताए।