काठमाडौं– आर्थिक मन्दीको प्रभाव कारण घरेलु तथा साना उद्योग धमाधम बन्द हुन लागेका छन। गत आर्थिक वर्ष ०७९–८० मा आर्थिक मन्दीका कारण धनुषामा ७१ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन्।घरेलु तथा साना उद्योग कार्यालय धनुषाको अनुसार गत आर्थिक वर्षमा लघु उद्योगतर्फ २८, साना उद्योगतर्फ ४२ र घरेलु उद्योगतर्फ एक गरी ७१ वटा उद्योग बन्द भएका छन्। कार्यालयमा गएर आधिकारिक रूपमा उद्योग बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण गर्न नसकेका ७१ वटा उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख किशोरीशरण यादवले बताए।
कोभिड– १९ को असर, बैंकको ब्याजदरमा वृद्धि हुनु, आर्थिक तरलताजस्ता कारण देखाउँदै उद्योग तथा वाणिज्यतर्फका फर्म बन्द हुने क्रम बढ्दै गएको उनले बताए। धनुषा जिल्लामा साना उद्योग ५३६, लघु उद्योग पाँच सय ९१ र घरेलु उद्योग एक गरी एक हजार ९८ उद्योग सञ्चालनमा रहेका छन्। ती उद्योगबाट महिला पुरुष गरी ६ हजार नौ सय ३० कामदार प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन्।
आर्थिक वर्ष ०७९–८० मा दर्ता भएका उद्योगमध्ये साना उद्योग पाँच सय ३६, लघु उद्योग पाँच सय ५१ र घरेलु उद्योग एक गरी एक हजार एक सय २८ वटा उद्योग दर्ता भई सञ्चालनमा रहेका छन्। ती सञ्चालनमा रहेका उद्योगको स्थिर र चालू पुँजी तीन अर्ब ५५ करोड ८२ लाख ११ हजार नौ सय ९९ रुपैयाँ रहेका छन्। हाल १७ हजार पाँच सयवटा उद्योग सञ्चालनमा रहेका छन्। सो कार्यालयले सोही आर्थिक वर्षमा उद्योगतर्फ ४४ लाख ७५ हजार तीन सय ७५ रुपैयाँ र वाणिज्यतर्फ ७४ लाख २३ हजार तीन सय २५ रुपैयाँ गरी जम्मा एक करोड १९ लाख ९८ हजार सात सय नवीकरण लगतकट्टा प्रतिलिपिबापत सो रकम उठाएको नासु मुकेश कर्णले बताए।