काठमाडौँ– सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमाथि खेलवाड गरेको बताएका छन।
आज (सोमवार) संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद यादवले यस्तो बताएका हुन्। यस्तै उनले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति बनाउनु आवश्यक नभएको बताए।
उनले समिति बनाए प्रतिवेदन थन्क्याएर राख्ने बाहेक काम नहुने भन्दै अपराधिक घटनाको छानबिन गर्ने काम नेपाल प्रहरीको भएको बताए। उनले प्रहरीमाथि विश्वास गर्नुपर्ने पनि बताए।
उनले भने, ‘संसद अवरोध प्रमुख प्रतिपक्षले गरेको छ। संसदलाई खेलवाडका रुपमा प्रमुख प्रतिपक्षले हेरेको छ। संसद जनताको प्रतिनिधित्व गर्ने संस्था हो। जनताको न्यायको मन्दिर हो। समसामयिक मुद्दामा यहीँबाट बहशको थालनी हुन्छ। देशमा बाढी, पहिरोले धेरै जनधनको क्षति भएको छ। यो संसद चलाउनुको साटो संसद अवरुद्ध गर्नु जायज कुरा होइन। प्रमुख प्रतिपक्षले नाटक रचेको छ। छानबिन टोली बनाएर के गर्ने? खालि त्यो प्रतिवेदन थन्क्याएर राख्ने। अरु के हुन्छ नेपालमा? छानबिन टोली बन्छ। प्रतिवेदन थन्क्याएर राखिन्छ। अरु कुनै काम हुन्छ र? अपराधिक घटनाको छानबिन गर्ने काम नेपाल प्रहरीको हो। गर्दैछ। प्रहरीमाथि विश्वास गरौँ।
सांसद यादवले गौर हत्याकाण्डको विषयलाई उठाएर जसपामाथि षड्यन्त्र र घेराबन्दी गर्न खोजिएको बताए। उनले तत्कालिन माओवादीको हठका कारण गौर हत्याकाण्ड भएको आरोप लगाए।