काठमाडौं– काठमाडौं महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटेज, दुध लगायत खुला रुपमा बेचिने खानेकुराहरु बिक्री गर्न राके लगाउने तयारी गरेको छ।
पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी महानगरले गरेको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए।
उनले भने, ‘खुला दूध प्लास्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो। यसलाई तत्काल रोक लगाउनुपर्छ।’
बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन अनुगमनलाई कडाइ गरिने उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्। जसका लागि महानगरले बजार अनुगमनका लागि तत्काल टोली परिचालन गर्ने उनको भनाइ छ। उनले अनुगमन गरेर सचेत गराएर सुधारको मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउने बताएकी छिन्।
यस्तै काठमाडौं महानगरले पानीको जार कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड विपरीत जार जफत र नष्ट गनै अभियानलाई निरन्तरता दिने भएको छ।