काठमाडौं– प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको छ। त्यसपछि सभामुख देवराज घिमिरेले एमालेकी सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिए।
एमाले सांसद साहलाई बोल्न समय दिएलगत्तै सत्तारुढ दलका सांसदहरुले उठेर विरोध गरे। त्यसपछि सभामुखले नियमको पालना गर्न आग्रह गरे। ‘नियमको पालना गरौं। मैले समय प्रतिपक्ष दलको माननीय बाट ज्वाला कुमारी साहलाई दिएको छु। उहाँले बोलिसकेपछि यहाँहरको कुरा के हो त्यो म सुनाउने छु।’
तर, सत्तारुढ दलका सांसदहरुले सदन विपक्षीको मात्रै कुरा सुनेर अगाडि बढ्न नसक्ने बताएपछि सभामुखले सभा आफ्नो नियन्त्रणमा चल्ने बताए। ‘माननीय सदस्यहरु आलोपालो मैले नियन्त्रण गरेको हुनपर्ने छ। मेरो कुराको आधारबाट यो सभा सञ्चालन गर्नुपर्ने छ’ सभामुख घिमिरेले भने।
होहल्लाकाबीच एमाले सांसद साहले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताइन्। सत्तापक्षका सांसदहरुको होहल्लाका कारण ‘कुरा नसुनिएको’ उल्लेख गर्दै सभामुखले एमाले सांसद साहलाई बस्न आग्रह गरे।
संसदमा अवरोध भएपछि सभामुख घिमिरेले कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक स्थगित गरिदिएका छन् । अर्को बैठक यही साउन २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।