सबै राजनीतिक दलहरुलाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न राष्ट्रपतिको आग्रह - Chaitanya News
  • 2026-11-16
  • 21:42:53
  • सोमबार,मंसिर ०१, २०८३
  • सबै राजनीतिक दलहरुलाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न राष्ट्रपतिको आग्रह

    सबै राजनीतिक दलहरुलाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न राष्ट्रपतिको आग्रह

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा रहेका सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गरेका छन्।

    आज (शुक्रबार) बिहान सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रपति पौडेलसंगको भेटको क्रममा राष्ट्रपति पौडेलले ‘संसदमा देखा परेको राजनीतिक गतिरोध फुकाउन के भइरहेको छ?’ भनी चासो राखेका थिए।
    जवाफमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सदन खुलाउन गरेको पहल र आन्तरिक छलफलबारे राष्ट्रपतिलाई जानकारी गराएको सभामुखमा प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिए।

    यस्तै सभामुख घिमिरेले ‘अविभावकको नाताले पहल हुन्छ भने गरिदिनुस्’ भनेर राष्ट्रपतिसमक्ष सदन खुलाउने प्रयासका लागि सहयोग मागेका थिए।

    त्यसपछि राष्ट्रपति पौडेलले सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते यता संघीय संसदको दुवै सदनको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन।