काठमाडौँ– नेता राधाकृष्ण मैनालीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मिलेर समाजवादी केन्द्र बन्न नसक्ने बताएका छन्।
प्रचण्ड र माधव मिलेर पुँजीवादी चरित्रको पार्टी बने पनि समाजवादी पार्टी बन्न नसक्ने उनले बताए। उनले यी दुवै नेता पदबिना बस्न नसक्ने नेता भएको आरोप समेत लगाए। यस्तै मैनालीले पार्टी बने पनि आलोपालो अध्यक्ष बन्न हानथाप हुने बताए।
‘प्रचण्ड र माधव मिलेर समाजवादी पार्टी बन्दैबन्दैन। पुँजीवादी चरित्रको पार्टी बन्ला। यी दुवैले नेतृत्व छाड्दैनन्। आलोपालो नेतृत्वमा जान्छन्। यी नै कारणले समाजवादीको स्वरूप सुदृढ पार्टीको बन्दैन उनले भने।
अहिले सबै पार्टीका नेताहरूमा विचलन आएकोले जनआक्रोश बढ्दै गएको उनको बुझाइ छ। परम्परागत पार्टी भनिएका कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति जनताको अनास्था तीव्र भएकाले यी नै नेताहरूलाई पजनी गरेर पार्टी नबन्ने जिकिर गरे।
‘परम्परागत पार्टी भनिएका कांग्रेस, एमाले, माओवादी, समाजवादी पार्टीप्रति जनआक्रोश छ। चरम निराशा छ। यसलाई दलीय आक्रोशभन्दा पनि नेताप्रतिको अनास्था हो । यी नै नेताहरूलाई पजनी गरेर जुनसुकै दल बनाए पनि हुँदैन’, उनले भने, ‘नयाँ विचार, दृष्टिकोण, सिद्धान्त र कार्यक्रम नभएपछि आम जनता र मतदाताको आकर्षण बढ्दैन । न प्रचण्ड–माधवको भविष्य छ न समाजवादी मोर्चाको छ।’
एमालेमा झनै विचलन तीव्र गतिमा आएको उनले टिप्पणी गरे। पछिल्लो समय एमालेभित्र निराशा थेगिनसक्नु भएको र कुन बेला विस्फोट हुन्छ थाहा नभएको टिप्पणी गरे ।