काठमाडौँ– गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गराउन छिट्टै नियमावली ल्याउने बताएका छन्।
आज (बुधबार) ललितपुरमा आयोजित नेपाल नागरिकता ऐनको कार्यान्वयनको अवस्था सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
यस्तै उनले ऐनको प्रभावकारी कार्यान्वयन गराउन समन्वयन गर्ने बताए। तर, नियमावलीमा नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरे तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने मागलाई भने संविधान र कानूनले नै नचिन्ने स्पस्ट पारे।
श्रेष्ठले भने, ‘नेपाली नागरिक महिलाले विदेशी बाबुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने कुरा अहिले संविधान र कानुनसँग मेल खाँदैन। त्यसकारण नियमावलीमा त्यसलाई व्यवस्था गर्न सकिँदैन्। अरु सबै समितिले भनेको व्यवस्था हुन्छ। खाली ऐनलाई सरलीकृतमात्रै गरिएको छ अहिले। पहिला अंगिकृत नागरिकता लिन निस्सा चाहिन्थ्यो अहिले अहिले स्वघोषणा भए पुग्छ।’