काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयताप्रतिको संशय हट्दै गएको बताएका छन्।
आज (मंगलबार) काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री मोदीले यस्तो बताएका हुन्। यस्तै उनले नेपालमा कार्यान्वयनको चरणमा रहेको संघीय शासन व्यवस्था बिस्तारै स्थिर र स्थायित्व हुँदै गएको पनि बताए।
उनले भने संघीयता कार्यान्वयन र अभ्यासको पहिलो पाँच वर्ष संक्रमणकाल जस्तै भएको छ। प्रदेश र स्थानीय तहमा धेरै क्षेत्रमा नवीन र उदाहरणीय काम सुरु भइसकेको उल्लेख गर्दै उनले संघीयता कार्यान्वयनको अबको दोस्रो चरण पहिलोभन्दा परिवर्तनकारी, अर्थपूर्ण रहने विश्वास व्यक्त गरे।
‘संघीयताप्रतिको संशय हट्दै गएको छ। आगामी दिनमा जनमानसमा बाँकी रहेको संशय सकिनेछ,’ संघीय मामिलामन्त्री मोदीले भने।
प्रदेश सरकार र स्थानीय सरकारका केही कमजोरीलाई लिएर संघीयताबारे नकारात्मक टिप्पणी नगर्न पनि उनको आग्रह छ।