काठमाडौं– सभामुख देवराज घिमिरेले सदनमा अवरोध हुँदा जनताको आवाज रोकिएको बताएका छन्।
‘आज (सोमबार) शिर्ष नेताहरुको छलफल पछि सभामुख घिमिरेले भने माननीयहरुले प्राकृतिक विपद्लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन।
सदनमा जारी अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो ३ बजे वानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख तीन दलका प्रमुख सचेतक र सचेतकहरु छलफलमा बसेका थिए।
राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो। यस सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गते यता संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक चल्न दिएको छैन।
सत्तारुढ दलहरु सरकारी अनुसन्धान टुंगो लागेपछि मात्रै अर्को छानबिन समिति गठन गर्न सकिने बताइरहेका छन्। सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेको अडानका कारण संसद चल्न सकिरहेको छैन।
फेरि पनि सहमतिको विकल्प नरहेको सभामुख घिमिरे बताउँछन्।
‘मैले अधिकतम रुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु। म दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु’ सभामुख घिमिरेले भने। आफू सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा नरहेको पनि उनले बताए।
सभामुख घिमिरेका अनुसार प्रमुख नीत दलका शीर्ष नेताहरुको अर्को बैठक मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । उनी भन्छन्, ‘आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौं।’