काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणको अनुसन्धान अघि बढाएको छ। यो प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएका सीआईबी स्रोतले जनाएको छ ।
सो प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबार सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो। पहिले सुन तस्करी प्रकरणको प्राविधिक पाटोमा मात्र अनुसन्धान गरिरहेको सीआईबीले सोमबारदेखि भने औपचारिक रुपमा अनुसन्धान सुरु गरेको हो।
यसअघि राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धानमा सहयोग गर्न प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको थियो। अहिले पंगेनीलाई पनि सीआईबीको अनुसन्धानमा सहयोग गर्न खटाएको प्रधान कार्यालय स्रोतले बताएको छ।