त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई विश्वासयोग्य बनाउन संस्थागत विकासको आधार निर्माण गर्नेछौं - Chaitanya News
  • 2026-11-12
  • 02:31:09
  • बुधबार,कार्तिक २६, २०८३
  • त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई विश्वासयोग्य बनाउन संस्थागत विकासको आधार निर्माण गर्नेछौं

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई विश्वासयोग्य बनाउन संस्थागत विकासको आधार निर्माण गर्नेछौं

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीमा टोकराज पाण्डे छन्। एक सय किलो सुनतस्करि प्रकरणपछि उत्पन्न असहज परिस्थितिका बीच अर्थमन्त्रालयले पाण्डेलाई भन्सार प्रमुखको जिम्मेवारी दिएर पठाएको हो। सुन तस्करी प्रकरणपछि विवादित त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पाण्डेले कसरी काम गरिरहेका छन्? प्रस्तुत छ, यही विषयमा केन्द्रित रहेर पाण्डेसँग चैतन्य खबरका लागि यज्ञराज जोशीले गरेको संवादको सम्पादित अंश:

    असहज परिस्थितिमा सरकारले विश्वास गरेर तपाईंलाई विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी दिएर पठाएको छ, कसरी काम गरिरहनु भएको छ?

    भनिन्छ, हरेक आँधी असल माझीका लागि अवसर हो। त्यसैले सधैँ सहज र अनुकुलतामात्रै खोजेर पनि हुँदैन। प्रतिकुलतामा पनि काम गर्नुपर्छ। अर्को कुरा मेरो पदको यहाँ दरबन्दी भएपछि कोही न कोही आएर काम गर्नै पर्छ। त्यस्तो बेला मैले काम सुरु गरेको छु। मैले यसलाई चुनौती र अवसर दुवै रूपमा लिएको छु। चुनौती यस अर्थमा कि पछिल्लो समय यहाँ जुन किसिमका घटनाक्रम देखिए, नेपालको सार्वजनिक प्रशासन सेवा प्रवाहमा आम नागरिक तहमा, सञ्चार तहमा जुन खालको बुझाइ छ, त्यसको भाष्य हामीले बदल्नुपर्ने छ। त्यसका लागि मैले यहाँ बसेर राम्रो काम गर्न सके भने, केही इँटा थप्न सके भने ठूलो उपलब्धिको रूपमा लिने छु। चुनौतीपूर्ण ठाउँ जहाँ पनि छन्। तर, असल नियतका साथ कदम चल्नु भयो भने कहिले पनि डराउनु पर्दैन। म त्यही असल नियत बोकेरमात्र यहाँ आएको छु। असल नियत बोकेर आएकाले राम्रो गर्न सकिन्छ भन्ने मलाई विश्वास छ। हो, सेवा प्रवाह गर्ने निकायमा विभिन्न समस्या छन्। ती समस्या एकै रातमा सिर्जना भएका होइनन्। ती समस्या सिर्जना हुन धेरै वर्ष लागेको छ। त्यसैले धेरै वर्षदेखि सिर्जित समस्या भएकाले एक रातमै समाधान हुँदैनन्। सुधारले पनि केही समय लिन्छ। तर, हाम्रो निरन्तरको प्रयासले ती समस्या समाधान गर्न सकिन्छ भन्ने मसँग विश्वास छ।

    त्यसका लागि हाम्रो कार्यशैलीमा परिवर्तन गर्न सकिन्छ। कर्मचारीको आचरण, व्यवहार सेवाग्राहीमैत्री बनाउने र असल नियतले काम गर्ने गर्नुपर्छ। त्यो म आफूबाट सुरु गर्छु र म मातहतका कर्मचारीलाई त्यसका लागि ट्रेन गर्छु। एउटा खुसीको कुरा के छ कि, नयाँ अफिसरहरू यहाँ आउँदै हुनुहुन्छ। उहाँहरूलाई मैले सुरुमै सेवाग्राहीमैत्री, असल भाव, असल नियतले प्रस्तुत हुनुहोस् भनेर फिल्डमा खटाउन सक्छु। अर्को कुरा हामीले काम गर्ने स्थान वरपरको वातावरण पनि राम्रो हुनुपर्छ। कार्यकक्ष, हामीले पिउने पानी सबै सफा र शुद्ध हुनुपर्छ। त्यसका लागि हामीले एयरपोर्ट परिसर, कार्गो भवनको सरसफाइ सुरु गरेका छौं। शनिबारमात्र हामीले व्यापक सरसफाइ गर्‍यौं। सुरक्षाकर्मी, यहाँका कर्मचारी, भन्सार एजेन्ट, सेवाग्राही सबैले साथ दिनुभयो। आगामी शनिबार हामीले वृक्षारोपण गर्दै छौं। त्यसपछिको साता हामीले यसको सौन्दरिकरणका लागि काम गर्ने छौं। कार्यवातावरणलाई पनि राम्रो गर्दै छौं। यसले छुट्टै खालको भाइब्रेसन ल्याउने विश्वास छ। तेस्रो कुरा कार्य विधिलाई सरलीकृत गर्ने हो। काम गर्ने विधिलाई सरलीकृत गर्नका लागि हामी आफैँले निर्णय गरेर हुने कुरा हामी आफैँ गर्छौं। आफैँले गरेर नहुने कुरालाई माथिल्लो निकायमा पठाएर भए पनि विधि पद्धतिलाई सरलीकरण गरेर अगाडि बढ्छौं।

    सुधारका धेरै पक्ष छन्। एकपछि अर्को पक्षलाई सुधार गर्दै गयौं भने बल्ल सुधारको गुन्जाइस हुने छ। नागरिकले सुधारको अनुभव गर्न पाउने छन्।

    चौथो कुरा भनेको राम्रो कामको बजारीकरण पनि हो। हामीले गरेको राम्रो कामको मानिसहरूलाई सही सूचना दिनुपर्छ भनेर सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि २०७५ अनुसार यो कार्यालयले पहिलो पटक फेसबुक पेज, ट्विटर पेज बनाएको छ। ह्वाटसप, भाइवर नम्बर शेयर गरेको छ। हामीले नेपाल आउने, नेपाल बाहिर जाने यात्रुहरूलाई के कस्ता मालवस्तु ल्याउन पाइन्छ, के कस्ता मालवस्तु प्रतिबन्धित छन्, के-कस्ता माल बस्तु कति परिणाममा ल्याउन पाइन्छ? जस्तै रेडियो, टिभी, घडी, सुनलगायतका विषयमा सूचना प्रवाह गरेका छौं। यसका लागि सही मान्छेको घरदै‌लोमा सही सूचना पुगोस् भनेर हामीले सञ्चारमाध्यमबाट पनि सहयोगको अपेक्षा गरेका छौं। यसरी नै हामीले कामको सुरुवात गरेका छौं। यसले सकारात्मक परिणाम देखाउनेमा म विश्वस्त छु।

    यो छोटो समयमा भन्सार कार्यालयमा के कस्ता कमजोरी फेला पार्नु भयो र सुधार गर्नुपर्ने पक्ष के देख्नुभयो?

    हाम्रा आधारभूत समस्या छन्। जनशक्तिको न्यूनता छ। स्रोतको कमी छ। भएका पूर्वाधार पनि साँघुरा छन्। सेवाग्राहीमैत्री छै‌नन्। हामीसँग आधुनिक प्रविधि छैनन्, जसले चेकजाँचलाई सहज बनाओस्। यी तमाम समस्याका बीच चल्नु परेको छ। तर, यो भएन र त्यो भएन भनेर बस्ने छुट हामीलाई छैन। त्यसैले उपलब्ध जे छ त्यसैलाई अधिकतम प्रयोग गरेर राम्रो नतिजा दिने कोसिस गर्ने हो। त्यो बाटोमा हामी अग्रसर छौं। यी विषय हाम्रा चुनौती त हुन् तर यत्तिका कारणले हाम्रो काम रोकिँदैन। अगाडि बढाउँछौं। सुधारका लागि केही गर्दै नगर्ने र सबै एकै पटक गर्न खोज्ने नै सबै भन्दा ठूलो चुनौती छ। त्यसैले हामी यी दुईवटाको बीचबाट हिँडिरहेका छौं। केही गर्दै नगर्ने होइन, हामी गर्छौं। एकै पटक सबै गर्ने होइन, हामी क्रमशः गर्छौं। यो ढंगबाट अगाडि बढ्यो भने सहज हुन्छ।

    आम जनताको प्रश्न एक सियोसम्म छिर्न नसक्ने भन्सार कार्यालयबाट एक क्विन्टल सुन कसरी छिर्‍यो भन्ने छ, तपाईंले छोटो समयमा समस्या कहाँ पाउनु भयो?

    पछिल्ला घटनाक्रमपछि म कार्यालयमा हाजिर भएँ। त्यसैले कतिपय विषय मेरो अध्ययनको क्षेत्र पनि हुन्। अध्ययन गर्दै छु मैले। पछिल्ला घटनाक्रमका विषयमा मैले अध्ययन गर्दै छु, अनुसन्धानकारी निकायले अनुसन्धान गर्दै हुनुहुन्छ। त्यसैले यही विषयमा अहिले नै केही भन्नसक्ने अवस्थामा हामी छैनौं।

    थोरै केही कमजोरी पाउनु भएको छ कि?

    अनुसन्धान चल्दै छ। अनुसन्धानपछि थप विवरण बाहिर आउला। अहिले यही नै भन्नसकिने अवस्था छ‌ैन।

    कि जाँच गर्ने संयन्त्रको समस्या हो?

    त्यो भन्दा पनि विभिन्न कठिनाइ छ। भने जस्तो अत्याधुनिक मेसिन अभाव छ। हाम्रा भएका पूर्वाधार सेवामैत्री नहुन सक्छन्। हाम्रा कर्मचारीको बानी, व्यवहार र आचरण पनि सुधार गर्नुपर्ने हुनसक्छ। सुधारका धेरै पक्ष छन्। एकपछि अर्को पक्षलाई सुधार गर्दै गयौं भने बल्ल सुधारको गुन्जाइस हुने छ। नागरिकले सुधारको अनुभव गर्न पाउने छन्।

    जनताले सबै भन्दा बढी कर्मचारीको भूमिका र नियतमाथि प्रश्न उठाउने निकाय मध्ये यो पनि एक हो, यो अफिसमा बसेर म यो-यो सुधार गर्छु भन्ने कुनै ठोस् योजना बनाउनु भाएको छ कि?

    हामीले केही योजना बनाएका छौं। तत्काल सुधारको योजना पनि छ। सोही अनुसार हामी अगाडि बढ्दै छौं। कर्मचारीको आचरण सुधारमा जोड दिएका छौं। उहाँहरूलाई मोटिभेट गरिरहेका छौं। कार्यप्रक्रिया सरलीकरणमा ध्यान दिएका छौं। कार्यालयमा अनुशासन र नियमितताका कुरा कडाइका साथ पालना गर्छौं। राजश्व प्रशासनमा मुलुकको राजश्वमा यो कार्यालयले पनि ठूलो योगदान पुर्‍याउँछ। त्यो अनुसार राजश्व सं‌कलन हाम्रो अर्को प्राथमिकता हो। सँगसँगै हामीले प्रवाह गर्ने सेवा सेवाग्राहीमैत्री हुनुपर्छ भनेर लागेका छौं। यी क्षेत्रमा हामी क्रमशः सुधार गर्छौं।