भारतको उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी तथा उद्धारका गर्न भारतलाई परराष्ट्रमन्त्रीको आग्रह - Chaitanya News
  • 2026-11-16
  • 23:00:30
  • सोमबार,मंसिर ०१, २०८३
  • भारतको उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी तथा उद्धारका गर्न भारतलाई परराष्ट्रमन्त्रीको आग्रह

    भारतको उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी तथा उद्धारका गर्न भारतलाई परराष्ट्रमन्त्रीको आग्रह

    काठमाडौं– भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदले भारतीय पक्षसँग आग्रह गरेका छन।

    आज (शनिबार) परराष्ट्रमन्त्री साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार रातिदेखि परेको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन्।

    रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परी १९ जना बेपत्ता भएका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार बेपत्तामध्ये अधिकांश नेपाली रहेका छन्। मुख्यमन्त्री धामीले शनिबार बिहानैबाट बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको परराष्ट्रमन्त्री साउदसँग बताएका छन्।

    धामीले रुद्रप्रयागको खराब मौसमका कारण आफ्नो गौरीकुण्ड जाने कार्यक्रम रद्द भए पनि बेपत्ताहरुको खोजीका लागि आफूले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको पनि बताएका परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ।