काठमाडौँ– सेवाग्राहीहरुसंग घुस लिएको आरोपमा लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आज (शुक्रबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध २ लाख बिगो कायम गर्दै आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो।
लेखा अधिकृत ढकालले नगरपालिका तथा वडा कार्यालयहरूमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ।
लेखा अधिकृत शेखर ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम २ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए।