सहकारी बैङ्क २० वर्ष पूरा गरेर २१औँ वर्षमा प्रवेश, सेयर पुँजी ८० करोड ८० लाख पुग्यो - Chaitanya News
  • 2026-05-26
  • 11:49:15
  • मंगलबार,जेठ १२, २०८३
  • सहकारी बैङ्क २० वर्ष पूरा गरेर २१औँ वर्षमा प्रवेश, सेयर पुँजी ८० करोड ८० लाख पुग्यो

    सहकारी बैङ्क २० वर्ष पूरा गरेर २१औँ वर्षमा प्रवेश, सेयर पुँजी ८० करोड ८० लाख पुग्यो

    काठमाडौँ– ‘राष्ट्रिय सहकारी बैङ्क’ले २० वर्ष पूरा गरेर २१औँ वर्षमा प्रवेश गरेको छ। २०६० असार २५ गते भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सहकारी विभागमा दर्ता भएको बैङ्कले औपचारिक रूपमा २०६१ साउन १९ गतेबाट सदस्य सहकारी संस्थाहरूसँग वित्तीय कारोबार सुरु गरेको थियो। सोही दिनलाई आधार मान्दै प्रत्येक वर्षको साउन १९ गतेलाई बैङ्कले स्थापना दिवसको रूपमा मनाउँदै आएको छ।

    यद्यपि, नेपाल राष्ट्र बैङ्कबाट भने सहकारी बैङ्कले २०६७ साउन १० गते मात्र बैङ्किङ कारोबार गर्ने अनुमति पाएको थियो। आज (शुक्रबार) सहकारी बैङ्कले विशेष कार्यक्रम गरी आफ्नो २१औँ वार्षिक उत्सव मनाउँदै छ।

    २०६१ सालमा सरकारबाट एक करोड रुपैयाँ र सहकारी संस्थाहरुबाट सेयरबापत उठाइएको एक करोड गरी दुई करोडबाट सुरु भएको बैङ्क यतिबेला अर्बको कारोबार गरिरहेको छ। २० वर्षको अवधिमा बैङ्कले सेवा विस्तार र कारोबारलाई थप आक्रामक बनाउँदै लगेको छ।

    पछिल्लो तथ्याङ्क अनुसार बैङ्कको कुल सम्पत्ति ६५ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ रहेको छ भने सेयर पुँजी ८० करोड ८० लाख रुपैयाँ पुगेको छ ।

    २०८० असार मसान्तसम्म सहकारी बैङ्कमा कुल सेयर सदस्यहरूको सङ्ख्या १६ हजार ६० रहेको छ भने कुल ऋणी सहकारी सदस्यको सङ्ख्या २ हजार ४७४ रहेको छ।

    २०८० असार मसान्तसम्म कूल ५८ अर्ब २४ करोड ५९ लाख रुपैयाँ बचत रहेको बैङ्कले ३२ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैङ्कको कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख रुपैयाँ रहेको छ भने विभिन्न कोषमा ५० करोड ४४ लाख रुपैयाँ रहेको बैङ्कले जनाएको छ।

    हाल बैङ्कको तरलता २१ अर्ब ५४ करोड ७४ लाख रुपैयाँ रहेको छ।