माओवादीको बैठकमा अध्यक्ष प्रचण्डको दस्तावेज विनै छलफल सुरु - Chaitanya News
  • 2026-11-16
  • 23:33:19
  • सोमबार,मंसिर ०१, २०८३
  • माओवादीको बैठकमा अध्यक्ष प्रचण्डको दस्तावेज विनै छलफल सुरु

    माओवादीको बैठकमा अध्यक्ष प्रचण्डको दस्तावेज विनै छलफल सुरु

    काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा लिखित दस्तावेज विना नै छलफल सुरु भएको छ।

    पटकपटक तोकेर पनि बस्न नसकेको केन्द्रीय समिति बैठक बुधबारदेखि बस्ने लामो समयअघि नै निश्चित भएको थियो। तर पार्टी अध्यक्ष प्रचण्डले पदाधिकारीको सहयोगमा तयार पार्दै गरेको राजनीतिक र सांगठनिक दस्तावेज विना नै केन्द्रीय समिति बैठकमा छलफल सुरु भएको छ।

    बैठकमा सहभागी सबै केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न विभाग र आयोगका पदाधिकारीले बोल्न चाहेमा समय माग गरेर पाँच मिनेट समय बोल्न पाउने व्यवस्था गरिएको छ। बैठक सुरु भएपछि महासचिव देव गुरुङले पेस गरेको एजेन्डा र पार्टी अध्यक्ष प्रचण्डले राखेको दस्तावेजको मौखिक स्वरूपकै आधारमा केन्द्रीय समितिमा छलफल सुरु भएको छ।

    बैठकको पहिलो दिन ७४ जना सहभागीले बोल्नका लागि नाम टिपाएकामा १८ जनाले धारणा राखेका छन्। बैठकमा दस्तावेजले अझै पूर्णता नपाएको भन्दै दोस्रो दिन लिखित दस्तावेज सबैलाई उपलब्ध गराउने भनिएको छ।

    प्रतिवेदनहरू मस्यौदा गर्नका लागि पदाधिकारीहरूलाई जिम्मेवारी दिएको भए पनि अध्यक्षले सरकारको समेत काममा ध्यान दिनु परेकाले पूर्णता पाउन समय लागेको नेताहरूको भनाइ छ।

    पदाधिकारी बैठकले प्रतिवेदनमा सुझाव संकलन र टिपोटका लागि पदाधिकारीहरूमा उपाध्यक्ष र उपमहासचिवलाई जिम्मेवारी दिएको थियो। राजनीतिक प्रतिवेदनका लागि उपाध्यक्षद्वय कृष्णबहादुर महरा, अग्नि सापकोटा र उपमहासचिव वर्षमान पुनलाई जिम्मेवारी दिएको थियो। यस्तै सांगठनिक प्रतिवेदनका लागि महासचिव देव गुरुङ र उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्मालाई जिम्मेवारी दिइएको थियो।