कोशी प्रदेशमा भागवण्डा मिल्यो, सभामुख छाडेका बाबुराम गौतम अर्थमन्त्री - Chaitanya News
  • 2026-11-16
  • 23:31:54
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशी प्रदेशमा भागवण्डा मिल्यो, सभामुख छाडेका बाबुराम गौतम अर्थमन्त्री

    कोशी प्रदेशमा भागवण्डा मिल्यो, सभामुख छाडेका बाबुराम गौतम अर्थमन्त्री

    विराटनगर– कोशी प्रदेशमा भागवण्डा मिलेको छ। माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्नेगरी भागवण्डा मिलेको हो। सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १–१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन्।

    सभामुखबाट मंगलबार राजीनामा दिएका गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, जवेगुलाई भौतिक पूर्वाधार मन्त्रालय र सुनुवारलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए।

    पहिलो चरणमा मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्ने र विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी रहेको उनले बताए। मुख्यमन्त्री र मन्त्रीले मंगलबार ५ बजे शपथ ग्रहण गर्दैछन्।

    विहान १० बजे नै शपथ ग्रहण गर्ने तयारी भए पनि काङ्ग्रेस र माओवादीभित्रको विवादले मन्त्री चयनमा ढिलाइ भएपछि बेलुका ५ बजेका लागि शपथ सारिएको हो।