सिहदरवारमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु - Chaitanya News
  • 2026-11-17
  • 00:08:04
  • सोमबार,मंसिर ०१, २०८३
  • सिहदरवारमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु

    सिहदरवारमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु

    काठमाडौँ– सिहरवारमा सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ।आज (बुधबार) समितिको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ।

    समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र सोचबारे जानकारी लिनेछ। समितिको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले आफ्नो कार्ययोजना र अवधारणा पेस गरेका छन्। बैठकमा स्वीट्जरल्यान्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले अवधारणा पेस गर्ने छन्।

    सरकारले परराष्ट्र सेवामा रहेका सहसचिवलाई विभिन्न कूटनीतिक नियोगमा राजदूतका रूपमा सिफारिस गरेको थियो। राजदूत नियुक्तिमा समावेशी चरित्र नदेखिएको भन्दै समिति सदस्यहरूले आजको बैठकमा परराष्ट्र मन्त्री एनपी साउदसँग जानकारी लिएका थिए।

    समितिमा आफ्नो धारणा राख्दै मन्त्री साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताए। उनले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने र समावेशी सिद्धान्तलाई राजदूत नियुक्त गर्दा पनि व्यवस्थितरूपमा सम्बोधन गर्दै लैजान पूर्ण प्रतिबद्ध रहेको बताए।

    संविधानले राज्यका सबै क्षेत्रलाई समावेशी बनाउने सिद्धान्त अङ्गीकार गरेपछि नेपाल परराष्ट्र सेवा समावेशिताको नमूनाका रूपमा रहेको उनको भनाइ थियो। सरकारले परराष्ट्र सेवाका सहसचिव थापालाई न्यूयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि, सुवेदी स्वीट्जरल्यान्ड, भट्टराई फ्रान्स, घनश्याम लम्साल कुवेत, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स र धनबहादुर ओलीलाई थाइल्यान्डका लागि राजदूत प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएको थियो।