हुम्ला– बडादशैं मनाइरहेका बेला सोमबार रातीबाट सदरमुुकाम सिमकोट लगायत दुुई वटा गाउँपालिकाको विद्युत् सेवा अवरुद्ध भएको छ। हिल्दुम विद्युत् आयोजनाको नहरलाई पहिरोले भत्काएपछि अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध भएको हो।
हिल्दुम विद्युत् वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख सुुशीलकुमार थारुले नहरको पानी चुहावट भएर पहिरोले नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको बताए। पहिरोले नहर भत्काउनुुका साथै पन्ध्र बीस मिटर ग्याबिन लगाएको भाग पनि भासिएको उनको भनाइ छ।
नहर भत्किएपछि सोमबार बेलुुकाबाट सिमकोट र खार्पुनाथ गाउँपालिका अन्धकार भएको छ। भत्किएको नहरको मर्मतका लागि मङ्गलबार बिहानैबाट केन्द्रका कर्मचारी खटिएको र काम भइरहेको थारुले बताए। कहिलेसम्म विद्युत् आपूर्ति गर्ने भन्ने अहिले नै भन्न नसकिने उनले बताए।
भत्किएको नहरमा काम सुुरु भएको र सम्पन्न हुने बित्तिक्कै विद्युत् सुचारु गरिने उनले जानकारी दिए। दशैं अवधिभरि विद्युत् सुुचारु गर्न कठिन रहेको उनको भनाइ छ। विद्युत् अवरुद्ध हुँदा यहाँका दुुई हजारभन्दा बढी सेवाग्राही मर्कामा परेका छन।
सो आयोजनाको मुुहानबाट फर्बे ट्याङ्कीसम्मको नहर मर्मत गर्नुका लागि भदौ २८ गतेबाट असोज ५ गतेसम्म पनि विद्युत् सेवा अवरुद्ध भएको थियो। वर्षाका कारण काम गर्न कठिनाइ भइरहँदा पनि विद्युत् सुुचारु गरिएको थियो।