काठमाडौँ– काठमाडौँको मध्यबानेश्वरमा करिब १० आना जग्गामा बनेको घर टहरा तत्काल नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएको छ। मध्यबानेश्वर सडकको ह्वाइट हाउस कलेजसँगै सतिशाल मार्गमा रहेको सार्वजनिक जग्गामा बनाइएका घरटहरा नभत्काउन अदालतले सोमबार आदेश दिएको हो।
काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाएर आफ्नो जग्गा दाबी गर्दै आएका विश्वनाथ जनार्दन आचार्यले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले उक्त रिटमाथि अल्पकालीन आदेश जारी गरेका हुन्।
‘२०६३ माघ ३ गतेको पत्रको ब्यहोरा हेर्दा दुवै पक्षको छलफल सुनी अन्तरिम आदेश सम्बन्धमा आदेश गर्नु उपयुक्त हुने देखिएको’ अदालतले जनाएको छ। विवादको विषयसँग सम्बन्धित लिखत, कागजात वा अन्य सबुद प्रमाण भए सोसमेत लिएर उपस्थित हुन अदालतले भनेको छ।
सो अवधिसम्म निवेदकले उल्लेख गरेका घरटहरा यथास्थितिमा राख्न अदालतले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ को ९२०को ‘क’ र उच्च अदालत नियमावली, २०७३ को नियम ४‘क’ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। कित्ता नं ६८ को जग्गामा मुद्दा परी दुई तहबाट फैसला भएको थियो। त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ। साउन २१ छलफलको लागि अर्को पेशी तोकिएको छ।
