कांग्रेसले असंवैधानिक तरिकाले सरकार बनाउन लागेको हिक्मत कार्कीको आरोप - Chaitanya News
  • 2026-11-17
  • 00:07:24
  • सोमबार,मंसिर ०१, २०८३
  • कांग्रेसले असंवैधानिक तरिकाले सरकार बनाउन लागेको हिक्मत कार्कीको आरोप

    कांग्रेसले असंवैधानिक तरिकाले सरकार बनाउन लागेको हिक्मत कार्कीको आरोप

    मोरङ– नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसले असंवैधानिक तरिकाले सरकार बनाउन लागेको आरोप लगाएका छन्।

    आज (मंगलबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कार्कीले कोशी प्रदेश सरकारको सत्ता प्राप्तिका लागि कांग्रेसले कानूनको सर्वोच्चतालाई कुल्चिएर सभामुखलाई राजीनामा गराउन लागिपरेको बताए।

    पत्रकारको एक प्रश्नमा नेता कार्कीले कांग्रेस र एमाले मिलेर प्रदेश सरकार बनाउन सकिने बताए। कार्कीले भने, ‘अहिलेको राजनीतिक संक्रमणको अन्त्यका लागि, राजनीतिक अस्थिरता हल गर्न कांग्रेस–एमाले एक ठाउँमा हुनुपर्छ।

    यद्पि, कांग्रेसकै कारण एक ठाउँमा उभिएर अघि बढ्ने सम्भावना नदेखिएको उनले बताए।

    कार्कीले भने, ‘कांग्रेसले अहिलेको अवस्थालाई हल गर्न सक्ने सम्भावना देख्दिनँ। कांग्रेस असंसदीय मान्यता र कानूनको सर्वोच्चतालाई कुल्चिएर अहिले पनि सभामुखको राजीनामा गराएर अमर्यादित काम गर्दै सत्ता हासिल गर्न खोजिरहेको छ।’

    सभामुखले राजीनामा दिए पनि एमालेतर्फबाट उपसभामुखले तत्काल राजीनामा नदिने उनले बताए। उनले भने, ‘हामी अमर्यादित काम गराउने पक्षमा छैनौँ। सभामुखले पनि राजीनामा दिनुहुन्न भन्ने लाग्छ। यदि उहाँले राजीनामा दिनुभयो भने पनि हामी राजीनामा दिने पक्षमा छैनौँ।’