काठमाडौं– नेकपा एमाले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ।
सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार हुनुपर्ने एमालेको माग छ। कार्य व्यवस्था परामर्श समितिको बैठकमा यो माग पुरा नभएसम्म सदन चल्न नदिने बताएको छ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानुनी रुपमा भित्रिएको करिब एक क्वीन्टल सुन प्रकरणमा छुट्टै छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग छ। यही माग राखेर एमालेले साउन १० गतेदेखि प्रतिनिधि सभाको बैठक चल्न दिएको छैन।
सत्तारुढ दलहरुले भने सरकारको अनुसन्धान जारी रहेका बेला अर्को छानबिन समिति बनाउने विषय नमिल्ने बताउँदै आएका छन्।