भन्सार र सुरक्षा प्रणालीलाई चुनौति : तस्करीको सुन, टोखामा फ्याक्ट्री - Chaitanya News
  • 2026-05-26
  • 10:38:17
  • मंगलबार,जेठ १२, २०८३
  • भन्सार र सुरक्षा प्रणालीलाई चुनौति : तस्करीको सुन, टोखामा फ्याक्ट्री

    भन्सार र सुरक्षा प्रणालीलाई चुनौति : तस्करीको सुन, टोखामा फ्याक्ट्री

    काठमाडौं- नेपालमा सुन तस्कारहरू निकै बलिया रहेको पछिल्लो घटनाले प्रस्ट पारेको छ। साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको गेटमा एक सय किलो सुन बरामद भयो। सियोसम्म छिर्न नसक्ने विमानस्थल भन्सारबाट एक क्विन्टल सुन बाहिरिएर गेटमा बरामद भएपछि यसको कनेक्सन पछ्याउन थालियो।

    त्यस क्रममा भन्सारका केही कर्मचारीसहित केही सुन कारोबारी पक्राउ परे। तस्‍करहरूको ठूलो राजनीतिक कनेक्सन रहेको समेत चर्चा भयो। सुन समातिएको दुई साता लामो अनुसन्धानपछि भन्सार विभागले शनिबार टोखामा तस्करको कारखाना नै फेला पारेको छ। जस्ले सरोकारवाला निकाय झस्किरहेका छन्।

    टोखामा भेटिएको कारखानामा कम्प्युटरको सीपीयूदेखि, पानी तान्ने मोटरसम्ममा सुन लुकाएर ल्याएको पाइएको छ। त्यति मात्रै होइन, ग्याँसको रेगुलेट र मःम बनाउने मेसिनमा पनि सुन लुकाएर ल्याएको टोखाबाट बरामद भएका सामग्रीले स्पष्ट पार्छन्।

    बरामद सबै सामान विमानस्थलबाटै भन्सार पास भएर आएको पाइएको बताइएको छ। त्यस्ता सामान राखेको कार्टुनले ठूलो घरको आकारको गोदाम भरिएको र ती सामानभित्र सुन लुकाएर ल्याएको विश्वास राजस्व अनुसन्धान विभागले गरेको छ।

    टोखामा कारखाना नै भेटेपछि भने सुन तस्करीमा एउटा समूह मात्रै नभई राज्यको उच्च तहसम्म पहुँच भएको ठूलो तप्का नै लागि परेको र त्यसलाई तोड्न थप दक्ष जनशक्ति र प्रविधिमैत्री अनुसन्धान आवश्यकता औंल्याइएको छ।

    ठूलो मात्रामा सुन तस्करी गर्न यथेष्ट धनराशी, राज्यका निकायको व्यवस्थापन र उनीहरूको संरक्षणमा तस्करी रोक्ने संयन्त्र विभागको दाबी छ। यसअघि विभिन्न ठाउँमा फेला परेका सुनका गोदाम र भण्डारण हेर्दा अनुसन्धान रेडी ट्रेडर्सले आयात गरेको वस्तुहरूमा मात्रै केन्द्रित रहेकोमा ठमेलबाट सुन तस्करका नाइके मानिएका दावा छिरिङ पक्रिएपछि र टोखाको फ्याक्ट्री भेटिएको विभागले जनाएको छ।

    टोखाको फ्याक्ट्रीको बनोट, तस्करी भएर विमानस्थलबाट भित्रिएर आएको वस्तु र त्यसबाट सुन निकाल्ने कार्य हेर्दा केही वर्षदेखि हजारौं किलो सुन तस्करी भइरहेको र त्यसमा भन्सार तथा सुरक्षा प्रणालीको भरपुर दुरुपयोग भएको निष्कर्ष विभागको छ।

    दावा छिरिङ र उनको सम्पर्कका आरोपितको बयानका आधारमा शनिबार दिउँसो टोखाको गोदाम विभागले पत्ता लगाएको हो। रेडी ट्रेडर्सले ब्रेक सुमा सुन लुकाएर आयात गरेको वस्तु त मोटामोटी यस अघि भेटिएकोमा टोखाको फ्याक्ट्रीमा यसअघि नै भन्सार पास भएर हजारौं किलो सामान भित्रिएको र त्योबाट सुन छुट्ट्याउने काम भएको देखिएको प्रहरीको भनाइ छ।

    टोखामा भन्सार पास भएर आएका सयौं बाक्सा भेटिएको र ती बाक्सा विमानस्थल भन्सारबाट पास भएको त्यहाँ उपलब्ध कागजले प्रमाणित गर्ने बताइएको छ। बाक्सामा कम्प्युटरको सीपीयू, पानी तान्ने मोटर, ग्यासको रेगुलेटर, स्पीकर, मिक्सचर, हिटर, मःम बनाउने मेशिनदेखि विद्युतीय भोल्टेज व्यवस्थापनमा काम गर्ने स्टेबलाइजरसम्म छन्। बाहिरबाट हेर्दा ती सामान चुस्त दुरुस्त देखिए पनि कभरभित्रका यन्त्र उपकरण भने निकालिएको छ।

    यसअघि सोह्रखुट्टेमै फेला परेको जस्तो सुन पगाल्ने थप २ वटा मेशिन टोखामा पनि फेला परेको छ। विद्युत्मार्फत एसीड प्रयोग गर्दै फलामबाट सुन गाल्ने मेशिन र सुनको बिस्कुट बनाउने उपकरण पनि टोखामा फेला परेको छ। यी मेसिन चीनमै बनेका हुन्।