काठमाडौँ— नेपाल उद्योग संघले भारतबाट धान आयातका लागि पहल गर्ने भएको छ। भारतले धान, चामल निर्यातमा प्रतिबन्ध लगाएका बेला नेपाल चामल तेल–दाल उद्योग संघले सरकारसँग मिलेर नेपालमा आयातका लागि पहल गर्ने भएको हो। काठमाडौंमा सम्पन्न संघको ४४ औं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो।
भारतका विभिन्न क्षेत्रमा धान रोपाइँ हुन नसकेको, मूल्यवृद्धि बढेको लगायतका कारण देखाउँदै भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएको हो। यसले नेपालको खाद्यान्न आपूर्तिमा समेत असर पर्ने अनुमान गरिएको छ।
नेपालमा चामल अभाव हुन नदिन उद्योगीले सरकारसँग मिलेर पहल गर्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष कुमुदकुमार दुगडले जानकारी दिए। त्यस्तै संघले धान आयातमा १ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने सुझाव सरकारलाई दिने भएको छ। नेपालमै धान उत्पादन बढाउन सरकारको सहयोगमा व्यवसायी र किसान मिलेर त्रिपक्षीय सम्झौता गर्नुपर्ने आवश्यकता संघले औंल्याएको छ।
त्यस्तै कच्चा र तयारी दालमा कम्तिमा २ तहको आयात दर कायम गर्न पहल गर्ने, मुसुरोको दाल निर्यातमा दिइँदै आएको प्रोत्साहन कायम गर्न पहल गर्ने, दाल निकासी गर्दा लाग्दै आएको प्रतिकेजी १ रुपैयाँ निकासी शुल्क हटाउन पहल गर्ने निर्णय संघले गरेको छ।
यसैबीच संघको वार्षिक साधारण सभाले कुमुद कुमार दुगडको अध्यक्षतामा आगामी २ वर्षको लागि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। विगतमा २ कार्यकाल संघको अध्यक्ष भई उनले नेतृत्व गरिसकेका छन्। निवर्तमान अध्यक्ष सुबोध कुमार गुप्ता, प्रथम उपाध्यक्षमा राम थापा, द्वित्तीय उपाध्यक्षमा राहुल अग्रवाल, महासचिवमा दिपक कुमार पौडेल, उप–महासचिवमा धिरज गोल्छा, कोषाध्यक्षमा रतन लाल केडियासहितको कार्यसमिति चयन भएको छ।