सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी निर्णय खारेज गर्नुपर्छ : डा.केसीको - Chaitanya News
  • 2026-11-17
  • 00:18:30
  • सोमबार,मंसिर ०१, २०८३
  • सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी निर्णय खारेज गर्नुपर्छ : डा.केसीको

    सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी निर्णय खारेज गर्नुपर्छ : डा.केसीको

    काठमाडौं– चिकित्सक डा. गोविन्द केसीले सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी निर्णय खारेज गर्न माग गरेका छन्। आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै उनले यस्तो माग गरेका हुन्। यस्तै उनले सीटीईभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरुले अवैध रुपमा सिट निर्धारण र भर्ना प्रक्रिया अघि बढाउँदा पनि शिक्षामन्त्रीले केही गर्न नसक्नुले आशंका बढाएको बताए।

    उनले सीटीईभीटीको सिट निर्धारण र भर्ना प्रक्रिया खारेज गर्न र दोषी पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्। डा. केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन र हालका उपाध्यक्षको पदावधि सकिनु अगाडि नै छनोटको प्रक्रिया टुंग्याउन पनि माग गरेका छन्। ‘आयोग एक दिन पनि नेतृत्वविहीन नहुने गरी नियुक्ति गर्न सरकारलाई अल्टिमेटम दिन चाहन्छौं’ केसीले भनेका छन्।

    केसीले २०७९ असोज ८ गते आफूसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन्। त्यतिबेला सरकारले केसीसँग सबै प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्‍याउने तथा संचालनमा ल्याउने, एकीकृत स्वास्थ्य शिक्षा (विज्ञान) प्रतिष्ठान र पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउने र स्वार्थको द्वन्द्व रोक्न काननुनी व्यवस्था गर्ने सहमति गरेको थियो।

    त्यस्तै सरकारी अस्पतालहरुमा विद्धमान शय्या अनुरुप स्थायी दरवन्दीको व्यवस्था गर्ने, सरकारी स्वास्थ्य संस्थाहरुवाट निशुल्क औषधि तथा उपचार प्रदान गर्ने पनि सहमति भएको थियो। यी माग पूरा नभए २९ साउनदेखि अनशन सुरु गर्ने डा. केसीले चेतावनी दिएका छन्।