काठमाडौँ– नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ०७४ सालमा पाएको मतको सदुपयोग गर्न सकेको भए ०७९ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले दुई तिहाईभन्दा बढी सिट जित्ने बताएका छन्।
आज (आइतबार)मनाङ–काठमाडौँ सम्पर्क मञ्चको ५ औँ सम्मेलनको उद्घाटनमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनल ०७४ सालको निर्वाचनमा कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ मत ल्याएको भएपनि त्यसको सदुपयोग गर्न नसकेको बताए। उनले त्यसबेला सरकार र पार्टी राम्ररी चलाएको भए ०७९ को निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जित्ने बताए। उनले नेपालमा कम्युनिस्ट पार्टीहरु सबैतिर फैलिएको बताए।
कम्युनिस्ट पार्टीहरु विश्वभर फैलिइरहेका भन्दै अध्यक्ष नेपालले ल्याटिन अमेरिकी देशहरु, युरोप र अफ्रिकाका कतिपय देशहरुमा वामपन्थी पार्टीका नेताहरु राष्ट्रपति निर्वाचित भइरहेका बताए। समाजवादको नारा नेपालमा मात्रै नभई संसारका अरु देशमा पनि गुन्जिरहेको उनको भनाई छ।
अध्यक्ष नेपालले इमान्दारिताका साथ अगाडि बढेमा कसैसँग तर्सिनुपर्ने आवश्यकता नहुने भन्दै इमान्दारिताका साथमा अगाडि बढ्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरे।