काठमाडौँ– खानेपानीमन्त्री महिन्द्रराय यादवले जलवायु परिवर्तनको कारण खानेपानी वितरणमा समस्या आएको बताएका छन्।
आज (आइतबार) खानेपानीका वर्तमान समस्या र समाधान विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्। यस्तै उनल नेपाल पानीको धनी मुलुक भएपनि जलवायु परिवर्तन र वातावरणीय प्रभावले पानीका मुहानहरु सुक्ने थालेकाले प्राप्त खानेपानी वितरणमा चुनौती थपिएको पनि बताए।
मन्त्री यादवले खानेपानीमा थपिएको समस्या दीर्घकालीन समस्या समाधानको लागि नसोचेर वर्तमान परिस्थितिमा खानेपानीको समस्या समाधान गर्न नसकिने उल्लेख गरे। उनले तराई मधेसमा पानीको सतह घट्दै जानु र पहाडमा पानीका मुलहरु सुक्दै जाने समस्या दीर्घकालीन रुपमा समाधान गर्ने उपायको खोजीमा सरकार लागेको बताए।
मन्त्री यादवले खानोपानी, वन, भौतिक र सिँचाइ मन्त्रालयसहितको राष्ट्रिय खानेपानी समस्या समाधान कमिटी बनाएर समस्याको पहिचान गर्ने र यसको दीर्घकालीन समस्या समाधान गर्ने मुख्य उद्देश्य सरकारको रहेको बताए। उनले बहुवर्षिय योजना बनाएर ठूला खोलाहरुबाट पानी वितरण प्रणालीमा ल्याउन सरकारले अनुसन्धान गरिहरको बताए। उनले तत्काल पानीको मूललाई संरक्षण गर्नको लागि भौगोलिक अवस्थाले पहाड र चुरे क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए।
मन्त्री यादवले आवश्यकता भन्दा धेरै पानी खर्च गर्ने पुरानो परम्परालाई छाडेर पानी वितरणलाई व्यवस्थित बनाउनुपर्ने बताए। उनले सुकेको मूललाई संरक्षण गर्न तराईमा पोखरी खन्ने वा चुरे क्षेत्रमा ड्यामहरु बनाएर पानीलाई रिचार्ज गर्नु आवश्यक रहेको बताए। उनले चुरेको विनाशका कारण तराई मधेसमा पानीको सतह कम हुँदै गएको बताए।