काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी सांसदहरुले निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन्। निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध उनीहरुले उच्च अदालत पाटनमा रिट दिएका हुन्।
रास्वपाका सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमले रिटमा निर्वाचन खर्च विवरण सार्वजनिकको दाबी पनि गरेका छन्।
गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै २४ सयभन्दा बढी उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गरेको थियो।
निर्वाचन आयोगले प्रक्रिया पूरा नगरी कारबाही गरेको उनीहरुको रिटमा उल्लेख छ। उनीहरुले आफूहरुलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय, पत्राचार र प्रेस विज्ञप्ति गैरकानुनी, स्वेच्छाचारी, अतार्किक र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले त्यसलाई बदर गर्न माग गरिएको छ।
त्यस्तै निर्वाचन आयोगलाई संवैधानिक र कानून बमोजिमको काम गर्न र जन निर्वाचित प्रतिनिधिको मानमर्दन नगर्न तथा प्रचारमुखी कार्यमा नलाग्न विशेष न्यायिक टिप्पणी समेत जारी गर्न माग गरिएको छ।