काठमाडौं– नेकपा एमालेका सांसद योगेश भट्टराईले तत्काल सभापति तत्काल चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी दिएका छन। आज (आइतबार) सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्। यस्तै उनले सरकारले संसद जसरी चलायनु पर्ने हो, त्यसरी नचलाएको पनि आरोप लगाए।
७ महिनामा एउटा मात्र विधेयक पास हुनु लज्जाको विषय भएको भट्टराईले बताए। उनले अगाडि भने, ‘संसदीय समितिका सभापतिहरु पनि एक महिनाभित्र चयन गर्ने अभ्यास हो, तर ३ महिनासम्म हुन सकेको छैन।’
भागवण्डा नमिलेका कारण सभापति चयन हुन नसकेको भनेर समाचारहरु आइरहेको भन्दै उनले आफूहरुले कुनै बार्गेनिङ नगरेको बताए। ‘सत्ता गठबन्धनको असहमतिका कारण उत्पन्न भएको समस्याको भारी बोक्न चाहँदैनौं’ एमाले सचिव भट्टराईले भने, ‘केही सहमति बनेको छ, त्यसअनुसार जाऊँ। बनेको छैन संसदीय प्रक्रियामा जाऊँ।’
यसबारे आफूहरुले सभामुखको ध्यानाकर्षण गराउन लागेको समेत एमाले सांसद भट्टराईले बताए। सत्ता पक्षको झै(झगडाको साक्षी भएर आफूहरु नबस्ने भन्दै उनले भने, ‘सम्भवत समितिको अर्को बैठकमा आउँदैनौं।’