पोखरा महानगरपालिकाले तोक्यो आगामी आर्थिक वर्षका लागि मलको मूल्य - Chaitanya News
  • 2026-05-26
  • 10:38:43
  • मंगलबार,जेठ १२, २०८३
  • पोखरा महानगरपालिकाले तोक्यो आगामी आर्थिक वर्षका लागि मलको मूल्य

    पोखरा महानगरपालिकाले तोक्यो आगामी आर्थिक वर्षका लागि मलको मूल्य

    पोखरा– पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि मलको मूल्य तोकेको छ। शुक्रबार बसेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको हो।

    युरिया मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म, डीएपी मलको मूल्य प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोकिएको समितिले जनाएको छ।

    पोखा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार मल बिक्रेताले मलबाहेक उपभोक्ताले प्लास्टिकको मूल्य थप बुझाउनुपर्नेछ। ‘मल किन्ने उपभोक्ताले आफैं झोला लिएर नआएमा मल बिक्रेताले प्लास्टिकको मूल्य बढीमा प्रतिकिलो २ रुपैयाँसम्म लिन पाउनेछन्,’ उनले भने।

    महानगरका अनुसार अघिल्लो आर्थिक वर्षमा पोखरामा युरिया, डीएपी र पोटास गरेर १ हजार ९७७ टन मल खपत भएको थियो । जसमध्ये युरिया १ हजार २२१.७५ टन, डीएपी ६६३.८५ टन, पोटास ३९.९५ टन र कृषि चुन २.१ टन खपत भएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए।

    मल वितरण व्यवस्थापन समिति संयोजकसमेत रहेकी उपप्रमुख मञ्जुदेवी गुरुङले हाल पोखराका २६ वटा वडाका ६७ वटा केन्द्रबाट मल बिक्रीवितरण भइरहेको जानकारी दिइन्। उनले महानगरमा सूचिकृत सबै मल वितरण केन्द्रबाट तोकिएकै मूल्यमा मल बिक्रीवितरण भएनभएको अनुगमन गरिनेसमेत जानकारी दिइन्।

    ‘महानगरमा सुचिकृत विक्रेतालाई मलको कोटा निर्धारण गरिएको छ किसानलाई तोकिएकै मूल्यमा सहज रुपमा मल उपलब्ध हुनुपर्छ,’ गुरुङले भनिन्, ‘अघिल्ला वर्षहरुमा पनि हामी नियमित अनुगमन गर्थ्यौ , यो वर्ष पनि त्यसलाई निरन्तरता दिन्छौं।